चितवन । तिहार र छठ पर्वको लामो बिदाको समयमा चितवन राष्ट्रिय निकुञ्ज घुम्नेको ओइरो लागेको छ। निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा जीप, हात्ती, डुङ्गा र पैदल यात्रा गर्नेहरु अधिक भएका हुन्। निकुञ्जभित्रका सडकमा जीप बाक्लो देखिन्छन् भने जीप र हात्ती यात्रा गर्न पालो कुर्नुपर्ने अवस्था रहेको छ ।
तिहारको टीकाको भोलि पल्टबाट आन्तरिक र बाह्य पर्यटकको बाक्लो उपस्थिति रहेको हो। सङ्ख्यात्मक हिसाबले आन्तरिक पर्यटक धेरै छन् । पर्यटकीय गतिविधिमा समावेश भएर रात नबसी फर्किनेको सङ्ख्या ठूलो छ। सौराहा, पटिहानी, जगतपुर र मेघौलीका राम्रा पर्यटकीय होटल भरिएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारी निकुञ्जको सौराहाबाट ३२, कसराबाट १४, मेघौलीबाट ९ र माडीबाट एउटा जीपले दैनिक पर्यटक निकुञ्ज घुमाएका छन्। नेचर गाईडको सहयोगमा पैदल यात्रा गर्ने, डुङ्गामा घुम्नेको सङ्ख्या पनि निकै बढेको तिवारी बताउछन्। उनका अनुसार दैनिक रु १० देखि १५ लाख राजस्व संकलन भइरहेको छ।
सौराहामा हात्ती सञ्चालन गर्दै आएको युनाइट हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले देशैभरबाट आन्तरिक पर्यटक आएको बताए। उनले भने, “अहिले त कुरा गर्ने फुर्सद पनि छैन।” सहकारीका ३२ वटा हात्तीले दैनिक चार पटक मध्यवर्ती सामुदायिक वन घुमाउँदा पनि धेरैलाई हात्ती चढाउन नसकिएको उनले बताए।
तिवारीले आफ्नो होटलमा विराटनगरदेखिका आन्तरिक पर्यटक आएर भरिएको बताए। लामो बिदाका कारण पर्यटकको राम्रो उपस्थिति रहेको तिवारी बताउछन्। आन्तरिक रुपमा पर्यटक घुमाउन सवारीसाधनको अभाव भएको तिवारीले जानकारी दिए।
पर्यटक बढेसँगै रेष्टुरेण्ट भरिभराउ छन् । रेष्टुरेण्ट व्यवसायी दीपेन्द्र खतिवडाले चहलपहल निकै बढेको बताए। उनले भने, “आन्तरिक र बाह्य पर्यटकले रेष्टुरेण्ट भरिएका छन्। बजार क्षेत्रमा रहेका होटलमा कोठा नपाएको गुनासो गरेको रेष्टुरेण्ट एण्ड वार एशोसिएशन सौराहाका निवर्तमान अध्यक्षसमेत रहका खतिवडाले जानकारी दिए। सौराहामा ८० हाराहारी रेष्टुरेण्ट छन् । उनले भने, “कोभिडपछिको धेरै पर्यटक अहिले सौराहा आएका हुन् ।”
सौराहाको युनिक वाईल्ड रिसोर्टका सञ्चालक गुणराज थपलिया युरोपियन पर्यटक पनि राम्रो रहेको बताउछन। उनले भने, “मेरो होटलका ३० वटा कोठा पूरै भरिएका छन् ।” स्वदेशीसँगै अष्ट्रेलियन, नेदरल्याण्डलगायत देशका पर्यटक रहेको थपलिया बताउछन्। राप्ती नदी किनारमा रहेको होटल नेचर हेरिटेजका सञ्चालक दामोदर रेग्मीले आन्तरिक र बाह्य पर्यटकले होटल भरिएको बताए। उनले भने, “यो वर्षको तिहारको व्यापार धेरै राम्रो छ।” आफ्नो होटलका ३५ वटा कोठा भरिएको उनले बताए ।
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले तिहारमा पर्यटकको राम्रो उपस्थिति रहेको बताए। होटलका कोठाको तुलनामा अन्य पर्यटकीय गतिविधिमा पर्यटकको चाप बढिरहेको भट्टराईले बताए । उनले भने, “होटलमा बस्ने भन्दा घुम्ने र फर्किने धेरै छन्।” जसले गर्दा हात्ती, जीप, डुङ्गा, सांस्कृतिक घरका गतिविधिमा धेरैले पालो पाउन नसकेको उनले बताए।
पटिहानीमा रहेको जङ्गल भिल्लाका सञ्चालक गणेश पौडेल निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बढेको बताउछन्। राप्ती किनारमा पटिहानीदेखि मेघौलीसम्म रहेका नौ वटा ठूला होटलमा स्वदेशी र विदेशी पर्यटक धेरै रहेको उनले बताए । ती होटलमा कुनै दिन भरिने र कुनै दिन केही मात्र कोठा रहने गरेका छन्। कोभिडपछि यसरी पर्यटक आएको पहिलो भएको व्यवसायी बताउँछन् ।
चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, बाघ, भालु, घडियाल गोही, चरा लगायतका लागि प्रख्यात छ । विश्वका धेरै मुलुक र नेपाली पर्यटकको रोजाइमा यो निकुञ्ज पर्दछ । हात्तीमा मध्यवर्ती सामुदायिक वन घुम्न र जीप, पैदल डुङ्गा निकुञ्जमा सयर गर्न पर्यटक रुचाउँछन् । यससँगै थारु संस्कृति पर्यटकको रोजाइमा पर्ने गरेको छ। रासस
Comments are closed.