ताल पोखरामा आन्तरिक पर्यटकसँगै आम्दानी पनि बढ्यो

पाल्पा । पूर्वी पाल्पाको रामपुरमा रहेको तालपोखरामा आन्तरिक पर्यटक बढ्न थालेका छन्। सामाजिक सञ्जाल फेसबुकदेखि टिकटकसम्म पोस्ट भएका तालपोखराका तस्बिर र भिडियोका कारण आन्तरिक पर्यटक बढ्न थालेका हुन् ।

आन्तरिक पर्यटक बढ्दै जाँदा तालपोखरामा डुङ्गाबाट हुने आम्दानी पनि बढ्न थालेको छ। हाल दैनिक दुई सयदेखि तीन सयसम्म आन्तरिक पर्यटकहरु त्यहाँ पुग्ने गरेका छन् । फेवातालको झल्को दिने तालपोखरामा बेलाबखतमा परिवारसहित घुम्न आउने गरेको शौरभसिंह ठकुरीले बताए ।

“ताल वरपर घुम्दा निकै रमाइलो लाग्छ, यो मलाई फेवाताल जस्तै लाग्छ, प्रचारप्रसार गर्न सकियो भने यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिन्छ”, उनले भने। पछिल्लो डेढ महिनामा मात्र आन्तरिक पर्यटकबाट रु दुई लाख ५० हजार बराबरको आम्दानी भएको तालपोखरा संरक्षण समितिका सचिव सुनिल देवकोटाले बताए ।

उनका अनुसार दसैं र तिहारका अवसरमा करिब रु एक लाख ५० हजार बराबरको आम्दानी टिकट बिक्रीबाट मात्रै भएको छ । यहाँ रहेका पाँच वटा डुङ्गामध्ये दुई वटा काठका डुङ्गा नियमित सञ्चालन भइरहेका छन्। तीन वटा डुङ्गा बिग्रेर मर्मत गर्नुपर्ने अवस्थामा छन्। आन्तरिक पर्यटक बढेसँगै अब बिग्रिएका डुङ्गा मर्मत गरी पाँचवटै डुङ्गा चलाउने समितिको तयारी छ।

हाँस आकारको डुङ्गा चढ्दा प्रतिव्यक्ति रु एक सय र काठको डुङ्गा चढ्दा प्रतिव्यक्ति रु ५० टिकट कायम गरिएको छ। यहाँ २०७४ माघदेखि डुङ्गा चलाउन सुरु गरिएको हो। यहाँ शनिबार र सार्वजनिक विदाका दिन, विशेष चाडपर्वमा आन्तरिक पर्यटकको खचाखच रहन्छ ।

नियमितरुपमा हरेक समय पानी व्यवस्थापन गर्न सकियो भने वार्षिक रु १५ लाख बराबरको कमाई गर्न सकिने समितिको अनुमान छ। सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वमा रहेको रामपुरमा तालपोखरा नै घुम्न भनेर बाहिरबाट विभिन्न संघ संस्थाको समूह आउँदा यसले सकारात्मक सन्देश प्रवाह गरेको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटाको भनाइ छ ।

“सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छ, व्यापक प्रचारप्रसारले तालपोखराका कारण रामपुरलाई चिनाउने राम्रो अवसर मिलेको छ, यो एउटा उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलका रुपमा चिनिएको छ”, उनले भने।

jutta mela

तालपोखरमा दसैं, तिहार, माघेसङ्क्रान्ति, शिवरात्रि, नयाँवर्षका अवसरमा ठूलो भिड लाग्दछ। अन्य समय पनि परिवार, साथीभाईसहित ताल वरपर घुम्नेको उत्साह देखिन्छ। मनोरञ्जन गर्ने र आफन्त, साथीभाई भेटघाट तथा घुमघामस्थलका रुपमा लिइएको छ ।

तालको मनमोहक सुन्दर दृश्यावलोकन गर्न पटकपटक एउटै व्यक्ति पनि आइरहने र रामपुरमा कोही नयाँ व्यक्ति आयो भने यहाँ घुम्न लिएर आउने राम्रो संस्कारको विकास भएको डुङ्गा चालक दिपेन्द्र भट्टराईले बताए।

तालको मनोरम दृश्यले सबैलाई लोभ्याएको हुन्छ। यहाँ सेल्फीजोनको व्यवस्था गरिएपछि तालका बीचमा रहेको मन्दिरलाई पृष्ठभूमिमा राख्दै फोटो, भिडियो खिचाउने, टिकटक बनाउनेको रौनक देखिन्छ। तालसम्म पुग्ने पक्की सडक सुविधा भएकाले रामपुर भित्रने जो कोही पनि तालपोखरा घुम्न पुगेकै हुन्छ ।

सानो उमेरमा पानी जमेको सामान्य खालको पोखरी अहिले पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदा रामपुरकै गहना बनेको रामपुर नगरपालिका–६ का वडाध्यक्ष दिवाकर देवकोटाको भनाइ छ। उनले तालको पर्यटन बिस्तारका लागि नगरपालिकाले बजेट उपलब्ध गराउँदै बताए।

सामान्य पानी जम्ने खाडललाई यहाँका स्थानीयवासीले पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने परिकल्पनासहित पूर्वाधार निर्माण सुरु गरेका हुन्। कृत्रिम ताल भए पनि अहिले कालीगण्डकीवेशीकै अवलोकनयोग्य ठाउँका रुपमा विकसित भएको छ। तालको बीच भागमा जलेश्वर महादेवको मन्दिर निर्माण गरिएको छ । यहाँ शिवरात्रिमा समितिले विशेष पूजाआजाण्सहित मेला आयोजना गर्दै आइरहेको छ ।

ताल करिब ४५ रोपनी क्षेत्रफलमा ताल फैलिएको छ । समितिको नाममा ताल र पार्कसहित करिब ७५ रोपनी जग्गा छ। पार्कमा पूर्वाधार विकास गर्नुपर्ने आन्तरिक पर्यटक तथा स्थानीयको सुझाव छ। समितिले पार्कमा आवश्यक पूर्वाधार तयार पार्ने योजना बनाएको छ।

तालका रुपमा विकास गर्न श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ आयोजना गरेर विसं २०६६ बाट पूर्वाधार विकासको काम सुरु गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गरिएको हो । रासस

You might also like

Comments are closed.