कर्णालीमा अझै ५० तुइन, प्रदेश सरकारले हटाएर झोलुङ्गे पुल बनाउने तयारी

काठमाडौं ।  कर्णाली प्रदेश सरकारले तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने नीति अनुसार प्रारम्भिक तथ्याङ्क सङ्कलन गरेको छ । प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार कर्णालीका १० मध्ये ७ जिल्लाबाट प्राप्त विवरणमा ५० स्थानमा तुइन रहेको पाइएको छ ।

मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदीका अनुसार तुइन विस्थापित गर्दै झोलुङ्गे पुल बनाउने योजनाअनुरूप विवरण संकलन गरिएको हो । पूर्वाधार विकास कार्यालयमार्फत प्राप्त विवरणअनुसार सबैभन्दा धेरै तुइन हुम्लामा रहेका छन्, जहाँ १५ वटा तुइन, त्यसमा पनि ६ वटा कर्णाली नदीमाथि रहेको उल्लेख छ ।

अन्य जिल्लाहरूमा कालीकोट र जाजरकोटमा १२–१२ वटा, सुर्खेतमा ८, डोल्पामा ३, दैलेख र मुगुमा २–२ वटा तुइन रहेको तथ्याङ्क प्राप्त भएको छ । तर, दैलेख, जुम्ला र रुकुम पश्चिमबाट भने विवरण आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ भित्र कर्णालीलाई ‘तुइनमुक्त प्रदेश’ बनाउने लक्ष्य लिएको छ । सोहीअनुसार नीति तथा कार्यक्रममा यो योजना समेटेर रु १ करोड ५० लाख बजेट समेत विनियोजन गरिएको मन्त्रालयका प्रवक्ता सुवेदीले जानकारी दिए ।

सरकारको भनाइमा जोखिमपूर्ण तुइन विस्थापित गरेर सुरक्षित र दिगो आवागमनका लागि झोलुङ्गे पुल निर्माण प्राथमिकतामा परेको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.