काठमाडौं । संयुक्त राष्ट्रसंघीय बालकोष, युनिसेफले बालबालिकाको सुरक्षामा ध्यान दिन अमेरिकी सरकार र यहाँका नेताहरुलाई आग्रह गरेको छ । सो कोषका कार्यकारी निर्देशक क्याथेरिन रसेलले अमेरिकामा बालबालिका विद्यालयमै असुरक्षित बन्दै गएको भन्दै उनीहरुको सुरक्षामा ध्यान दिन आग्रह गरेका हुन् ।
अझै कति बालबालिकाले अकालमा यसरी ज्यान गुमाउनुपर्ने हो ? आफ्नै विद्यालयमा बालबालिका यसरी असुरक्षित हुन्छन् भने बालबालिकाको भविष्य के होला ? उनको प्रश्न छ । अमेरिकाको टेक्सासको एक एलिमेन्टरी स्कुलमा भएको गोली काण्डमा परी २१ जनाको ज्यान गएपछि उनको यो भनाई आएको हो ।
अमेरिकी सहर टेक्सासमा मङ्गलबार दिउँसो भएको सो दुःखद घटनामा परी १८ जना बालबालिकासहित २१ जना मारिएका थिए भने अरु कैयौँ घाइते भएका थिए । टेक्सासको युभाल्डेस्थित रोब इलिमेन्टरी स्कूलमा एकजना १८ वर्षीय किशोरले गोली चलाउँदा ती विद्यार्थीको ज्यान गएको पनि बताइएको छ ।
उक्त गोली काण्डमा परेर ज्यान जानेमा १८ जना विद्यार्थी र तीन जना शिक्षक रहेका समाचारमा जनाइएको छ । गोली लागेर अरु १३ बालबालिका, विद्यालयका कर्मचारी र केही प्रहरी पनि घाइते भएका छन्।
उनले यस्तै दर्दनाक अवस्था अफगानिस्तान, युक्रेनलगायतका देशमा पनि देखिसकेको भन्दै अब बालबालिकाको सुरक्षाका लागि केही गर्न ढिला भइसकेको बताए ।
Comments are closed.