शिविरमार्फत दुई सय बढीको स्वास्थ्य परीक्षण

पोखरा । अधिकृत बिक्रेता संघ पोखराले आयोजना गरेको स्वास्थ्य परीक्षण शिविरमा दुई सय ४५ जनाले सेवा लिएका छन् । शिविरमार्फत मधुमेह, रगतमा हुने खराब बोसो (टिजी) र युरिक एसिड परीक्षण गरिएको छ ।

रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा संघले शिविर आयोजना गरेको हो । कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले मधुमेह, युरिक एसिड, टिजी लगायतका समस्याबारे प्रकाश पारे ।

उनले समाजमा चलेका भ्रमको पछि नलाग्न अनुरोध गर्दै नियमित स्वास्थ्य परीक्षण गर्न र चिकित्सकको सल्लाहअनुसार खानपान, जीवनयापन र औषधोपचार गर्न आग्रह गरेका छन् । “सुगरले हानि पु¥याउन पाँच वर्ष लाग्छ, औषधी नखाई नियन्त्रण गर्छु भन्ने ठान्नुभो भने जीवन नै जोखिममा पर्न सक्छ, बेला बेलामा जाँच गरी उचित उपचार गरे, खानपान र जीवनशैली सुधारे दीर्घ जीवन बाच्न सकिन्छ” उनले भने ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले असाध्यै पीडा भएपछि मात्र जाँच गराउने, स्वास्थ्य संस्था जाने परिपाटी छाड्न आग्रह गरे । उनले बेला–बेलामा स्वास्थ्य जाँच गर्न आग्रह गर्दै अधिकृत बिक्रेता संघ, युआरएल जस्ता अरु संस्थाले पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए ।

अधिकृत बिक्रेता संघ पोखरा अध्यक्ष मनोजकुमार श्रेष्ठको अध्यक्षतामा भएको समारोहमा कार्यक्रम संयोजक विजेन्द्र शर्मा पौडेल, सचिव दिलीपकुमार श्रेष्ठ लगायतले स्वास्थ्य सेवाका सन्दर्भमा आफ्ना धारणा राखेका छन् ।

युआरएलले स्थापनाकालदेखि नै आफैं र विभिन्न संघ, संस्थासँगको सहकार्यमा दुई सय वटा निःशुल्क शिविर गरिसकेको छ । युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्थले सर्वसाधारणसम्म स्वास्थ्य सचेतनासँगै गुणस्तरीय सेवा पु¥याउन शिविर आयोजना गर्दै आएको जानकारी दिए ।

You might also like

Comments are closed.