खोप लगाएपछि वृद्धवृद्धा भन्छन्, “अब बाँचिन्छ होला”

ताप्लेजुङ । बुधबार दिउँसो जिल्ला अस्पताल ताप्लेजुङको परिसरमा कोरोना विरुद्धको खोप लगाएर निस्किएका वृद्धवृद्धाहरु हँसिलो अनुहारमा देखिए । मास्कले अनुहार ढाकिए पनि हँसिलो अनुहार परैबाट प्रष्ट देखिन्थ्यो । कोही बसेरै हाँसीखुसीका साथ एकआपसमा भलाकुसारी गरिरहेका थिए त कोही घर फर्किने तरखरमा देखिन्थे ।

“खोप लगाइसकेपछि कस्तो लागिरहेको छ ?” भनेर सोध्दा फुङलिङ नगरपालिका–२ का ८० वर्षीय टीकाराम गुरुङको जवाफ थियो, “कस्तो लाग्छ र, अब बाँचिन्छ होला नि, खोप लगाइहालियो, राम्रै त होला ।” यतिकैमा उनीसँगै बसेका ८१ वर्षीय डम्बर गुरुङले भने, “खोप लगाउन पाइयो, मनमा सन्तोक भयो, अब बिरामले भेट्दैन होला ।”

फुङलिङ–४ की ८४ वर्षीया सुकरानी लिम्बूले पनि खोप लगाएपछि आफूलाई ढुक्क लागेको बताइन् । “खोप लगाएपछि ढुक्क लागिरहेको छ, अब त बाँचिएला नि त, खोप लाएपछि कोरोना आउँदैन भन्छन्”, उनले भनिन् । यसरी उनीहरु मात्रै नभई खोप लगाएका सबै वृद्धवृद्धाले ढुक्क लागेको भन्दै सङ्क्रमणले नभेट्ने विश्वास भएको बताइन् ।

ताप्लेजुङमा बुधबार वृद्धवृद्धासहित २८६ जनाले कोभिड–१९ विरुद्धको भेरोसेल पहिलो खोप लगाएका छन् । वृद्धवृद्धा, सुरक्षाकर्मी, पहिलो चरणमा छुटेका सञ्चारकर्मीलगायतले खोप लगाएको जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले जानकारी दिइन् । आज बिहिबार पनि जिल्ला अस्पतालको खोप केन्द्रबाट खोप लगाइने उनको भनाइ छ ।

खरेलका अनुसार आइतबार फुङलिङ नगरपालिका अन्र्तगतका दोखु, फुरुम्बू, हाङ्देवा र फावाखोलामा रहेका स्वास्थ्य संस्थाबाट खोप लगाउने कार्यक्रम छ । यो पटक ताप्लेजुङमा एक हजार ८५१ जनालाई कोरोना विरुद्धको भेरोसेल खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

चीनसँगको सीमा जोडिएका क्षेत्रका बासिन्दालाई समेत भेरोसेल खोप लगाउने भनिए पनि तत्कालका लागि त्यहाँका सबैलाई नपुग्ने देखिएको जनाइएको छ । खोपको मात्रा नपुग्ने भएपछि कोरोना खोप व्यवस्थापन तथा अनुगमन समितिको बैठकले प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयमा थप मात्रा माग गर्ने निर्णय गरेको बताइएको छ । यहाँ १४ हजार २०४ ले पहिलो कोभिडसिल्डको खोप लगाएका छन् । पहिलो र दोस्रो दुवै मात्रा लगाउने ९७८ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.