सरकारले माग्यो बुस्टर डोजका लागि थप खोप

काठमाडौं । सरकारले छिमेकी देशमा कोरोना भाइरस संक्रमण फैलिरहेका बेला अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि थप खोपको माग गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १५ लाख मात्रा बुस्टर डोज माग गर्दै आज पुनः ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)लाई औपचारिक रूपमा पत्र पठाएको छ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले १५ लाख मात्रा खोपका लागि ‘गाभी’ लाई पत्र पठाइएको जानकारी दिए। यसअघि पुस १४ गते पनि शाखाले बुस्टर डोजका लागि १५ लाख मात्रा खोप माग गरी पत्र पठाएको थियो।

उक्त पत्रअनुसार गाभीले आगामी माघ १९ गते १५ लाख मात्रा खोप उपलब्ध गराउने जानकारी गराइसकेको छ। ‘बुस्टर डोजका लागि १५ लाख मात्रा खोपले मात्र नपुगेपछि थप १५ लाख मात्रा खोपका लागि आजै हामीले गाभीसँग माग राखी पत्र पठाएको छौँ,’ उनले भने, ‘गाभीले खोपबारे चाँडै नै जानकारी गराउने छ।’

गाभीले कोभ्याक्स सुविधामार्फत नेपालले बुस्टर डोजका लागि फाइजरको बाइभ्यालेन्ट खोप ल्याउन थालिएको हो। बुस्टर डोजका लागि मात्र ३० लाख मात्रा खोप आउने छ। छिमेकी मुलुक भारत र चीनमा विएफ सात नामक प्रजातिको नयाँ भेरियन्ट फैलिन थालेपछि सरकारले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरेको छ।

You might also like

Comments are closed.