भिमादका एक सय बढी घरधुरी उच्च जोखिममा

तनहुँ । तनहुँको भिमाद नगरपालिका- ५ र ६ का एक सयभन्दा बढी घरधुरी नदी कटानका उच्च जोखिममा रहेका छन् ।

भिमाद नगरपालिका- ६ कुमार चोकमा सेती नदीका कारण करिब ८५ र भिमाद-५ अन्टेन खोलानजिक कपरादी दलित बस्तीका २२ घरधुरी जोखिममा परेका हुन् ।

वर्षायाममा खोला र नदीमा आएको बाढीले बस्ती क्षेत्र कटान गर्न थालेपछि जोखिम बढेको हो । अघिल्ला वर्षमा खोला र नदीमा आएको बाढीले कटान गरेको स्थानमा संरक्षण हुन नसक्दा पुनः वर्षायाम सुरु भएसँगै बस्ती क्षेत्रमा जोखिम बढ्न थालेको छ ।

सेती नदीले कटान गरेका कारण भिमाद-६ कुमार चोकका धेरै बासिन्दा विस्थापित हुने स्थितिमा पुगेका छन् । केही मानिस दिउँसो त्यही बसेर व्यापार गर्ने र साँझपख अन्यत्रै सुरक्षित स्थानमा गएर बस्दै आएको नगरपालिकाकी उपप्रमुख शारदा खनालले जानकारी दिइन् ।

नगरपालिकाको बजेटले मात्रै सम्बोधन गर्न नसकिने भएकोले नदी कटान नियन्त्रणका लागि आवश्यक पहल भइरहेको उनले बताइन् । सेतीनदीको कटानका कारण जोखिम बनेको बस्ती जोगाउनको लागि डिपीआर गरिए पनि संरक्षण हुन सकेको छैन । उपप्रमुख खनालले भने, “बस्ती जोगाउन गण्डकी प्रदेश र संघीय सरकारसँग पनि समन्वय गरी अघि बढिरहेका छौँ ।’’

त्यसैगरी भीमाद-५ का दलित बस्तीका करिब २२ घरधुरी जोगाउनका लागि अन्टेन खोलाले कटान गरेको स्थानमा पर्खाल लगाउने कार्य सुरु भइसकेको उनले जानकारी दिए ।

सेती नदीले कटान गरेको क्षेत्रमा नदीलाई छेकेर मर्निङ्ग पार्क बनाउने योजना रहेको नगरपालिका कार्यालयले जनाएको छ । हाल नदी घुमेको उक्त स्थानमा चेक ड्याम निर्माण गरी बस्ती क्षेत्रलाई जोगाउने प्रयास भइरहेको बताइएको छ ।

बस्ती क्षेत्र संरक्षणका लागि जमिन तलबाट कंक्रिट ढलान निर्माण गर्नुपर्ने देखिएको र यसका लागि ठूलै बजेटको आवश्यक पर्ने नगरप्रमुख दधीराज सुवेदीले जानकारी दिए । नदीले भत्काउन नसक्ने गरी बस्ती संरक्षण गर्नुपर्ने देखिएकाले त्यसका लागि नगरपालिका सक्रियरुपमा लागि रहेको उनको भनाइ थियो

You might also like

Comments are closed.