काठमाडौं । डोङफेङ मोटर ग्रुपले आफ्नो इलेक्ट्रिक भेहिकल ब्राण्ड भोया अटोमोबाइलमा ठूला लगानी गर्ने घोषणा गरेको छ । स्वच्छ र स्मार्ट यातायात विकासमा आफ्नो प्रतिबद्धता अनुरुप लगानी रहने कम्पनीले जनाएको छ ।
डोङफेङ र भोया बीच सम्पन्न पुँजी वृद्धि सम्झौता अनुसार हुने यस लगानीमा डोङफेङको सहायक कम्पनी डोङफेङ एसेट म्यानेजमेन्टले भोयामा करिब १३७ मिलियन अमेरिकी डलर लगानी गर्नेछ । यसले भोयालाई ईभी स्पेसमा आफ्नो गाडी, प्रविधि र प्रदर्शनलाई अझै सुधार गर्न मद्दत गर्नेछ ।
पुँजी वृद्धि सम्झौतापछि भोया अटोमोबाइलको स्वामित्व संरचनामा केही फेरबदल हुनेछ । लगानीपछि डोङफेङ मोटर ग्रुपले भोयाको ७९.६९ प्रतिशत स्वामित्व पाउनेछ । डोङफेङ एसेट म्यानेजमेन्टको ३.३० प्रतिशत हिस्सा हुनेछ र बाँकी १७.०१ प्रतिशत अरू सेयरधनीले राख्नेछन् ।
यसरी डोङफेङले भोयामा नियन्त्रण कायम राख्दै विश्वसनीय साझेदारसँग मिलेर विकास कार्यलाई अघि बढाउनेछ । भोया, डोङफेङ मोटर ग्रुपको प्रिमियम इलेक्ट्रिक गाडी ब्राण्ड हो । स्मार्ट र वातावरणमैत्री गाडीका साथ बजारमा प्रवेश गरेको भोयाले आजका ग्राहकका लागि आधुनिक गाडी उपलब्ध गराउने लक्ष्य राखेको छ ।
विश्वभर इलेक्ट्रिक गाडीको माग बढ्दै गएका कारण भोया, डोङफेङको भविष्यको योजनामा महत्वपूर्ण हिस्सा हुनेछ । यो नयाँ लगानीले भोयालाई बजारमा अझ बलियो बनाउन सहयोग गर्नेछ । नयाँ पूँजीलाई अनुसन्धान र विकास, उत्पादन वृद्धि, गाडीको गुणस्तर सुधारका साथै अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्नका लागि प्रयोग गर्न सकिनेछ । यसले भोयालाई अन्य ठूला इलेक्ट्रिक भेहिकल ब्राण्डसँग प्रतिस्पर्धा गर्न पनि मद्दत गर्नेछ ।
डोङफेङका लागि यो लगानी केवल आम्दानी वा सेयरको कुरा मात्र होइन, भविष्यमा ग्रीन र स्मार्ट यातायात प्रणालीमा प्रभावशाली सेयरधनीका रूपमा नेतृत्व गर्ने लक्ष्यतर्फको कदम पनि हो । डोङफेङले सर्वसाधारणका लागि भविष्यको ग्रीन मोबिलिटी र स्मार्ट यातायात प्रणालीतर्फको रूपान्तरणमा अग्रणी भूमिका खेल्ने लक्ष्य राखेको छ । भोयामा गरिएको हालको यो लगानी नवीनता र दिगोपनमा गरिएको लगानीको उदाहरण मात्र हो ।
पछिल्ला केही वर्षमा विश्वव्यापी अटोमोबाइल उद्योग द्रुत गतिमा परिवर्तन हुँदै आएको छ । ग्राहकहरू वातावरणमैत्री गाडी रोज्न थालेका छन् । विभिन्न सरकारका नीति नियमले पनि यसलाई समर्थन गरेका छन् । डोङफेङजस्ता ठूला कम्पनीले भविष्यको आवश्यकता अनुसार आफ्नो रणनीति परिवर्तन गर्दै आएका छन् । यो नयाँ पूँजी वृद्धिले डोङफेङलाई भविष्यको गाडी बजारमा अझ मजबुत बनाउन मद्दत गर्नेछ ।
यो लगानीले डोङफेङको भोया माथिको भरोसा र यस ब्राण्डले भविष्यमा विद्युतीय यातायातमा प्रमुख स्थान हासिल गर्ने विश्वासलाई देखाउँछ । भोयाको विकास र वित्तीय सहयोगसँगै, उपभोक्ताले निकट भविष्यमा अझ स्मार्ट, भरपर्दो र वातावरणमैत्री सवारीसाधनको अपेक्षा गर्न सक्छन् ।
Comments are closed.