जग्गा एकीकरण आयोजना सञ्चालन

दमौली । तनहुँको व्यास नगरपालिकाले बैरेनीमा जग्गा एकीकरण आयोजना सञ्चालन गर्ने भएको छ । शहरी विकास तथा भवन निर्माण विभागले आयोजना सञ्चालनका लागि स्वीकृति दिएपछि नगरपालिकाले वडा नं १० स्थित बैरेनीमा जग्गा एकीकरण आयोजना सञ्चालन गर्न लागेको हो ।

नगरपालिकाको महात्वाकाङ्क्षी योजनाको रुपमा रहेको यस आयोजनालाई विभागले स्वीकृति दिएको नगरपालिकाका वरिष्ठ इञ्जिनीयर रवीन्द्रलाल मूलले जानकारी दिए । उक्त जग्गा एकीकरण आयोजना नगरसभाले पारित गरिसकेको छ ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलको उपस्थितिमा भएको बैठकले उक्त आयोजना अगाडि बढाउने निर्णय गरेको हो । उक्त बैठकले नगरपालिकाले बुझाएको परिमार्जित मस्यौदालाई नै आयोजनाको रुपमा अध्ययन गरी काम अघि बढाउने निर्णय गरेको वरिष्ठ इञ्जिनीयर मूलले जानकारी दिए ।

वडा नं १० को बैरेनीस्थित २६० रोपनी जग्गालाई एकीकृत गरी नयाँ मोडलको शहर बसाउने योजना नगरपालिकाको छ । यसअघि उक्त आयोजना वडा नं ११ को रानीगाउँमा गर्ने योजना रहेपनि रानीगाउँका बासिन्दाको तीव्र विरोधपछि बैरेनी स्थानानन्तरण गरिएको थियो । बैरनीको दुई हजार रोपनी क्षेत्रफलमध्ये पहिलो चरणमा पाइलट प्रोजेक्टको रुपमा २६० रोपनी जग्गामा एकीकृत बस्ती बसाउने योजनाअनुसार जग्गा एकीकरण गर्न लागिएको छ । जग्गा एकीकरणपछि उक्त स्थानमा कालोपत्र सडक, उचित नाली तथा ढल, खानेपानी, विद्युतीकरण, सञ्चारलगायत सबै शहरी सुविधा पु¥याइनेछ ।

जग्गा एकीकरणपछि एउटा घडेरीको क्षेत्रफल न्यूनतम तीन आना हुनेछ । तीन आनाभन्दा कम क्षेत्रफल हुने जग्गाधनीले उक्त स्थानको जग्गा एकीकरणका लागि दिएर सोही मूल्य बराबरको अन्यत्र स्थानमा जग्गा प्राप्त गर्नेछन् । सङ्घीय सरकारले देशका केही क्षेत्रमा नयाँ शहरी योजना सञ्चालन गरिरहेको अवस्थामा व्यास नगरपालिकाले पहिलो पटक स्थानीयस्तरबाट नै जग्गा एकीकरण योजना सञ्चालन गर्न लागेको हो । उक्त योजना सफल भए भविष्यमा अन्य वडामा पनि यस्तै प्रकारको आयोजना सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले वडा नं ५ मानुङकोट, वडा नं ६ शिशाघाट, वडा नं ७ नरङ्गाफाँट र वडा नं १० बैरेनी क्षेत्रमा यो योजना सञ्चालन गर्ने तयारी गरेको थियो । सोही बमोजिम मानुङकोटमा जग्गा विकासका लागि अध्ययन गरिसकिएको छ । नगरपालिकाले मानुङकोटमा सार्वजनिक जग्गा, व्यक्तिको जग्गाको पहिचान गरिनुका साथै आगामी दिनमा कहाँ बस्ती निर्माण गर्ने, कहाँ बाटो बनाउने भन्ने विषयमा अध्ययन गरेको थियो ।

मानुङकोटको मौलिक चरित्रलाई यथावत राखी आधुनिक ढङ्गबाट विकासको अभियान सञ्चालनका लागि जग्गा विकास कार्यक्रम लागू गर्न लागिएको नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बताए । “मानुङकोटका मगर समुदायले जग्गा छोड्दै जाने र बाहिरबाट आएर जग्गा किने क्रम बढ्दै गइरहेको छ”, उनले भने, “त्यसैलाई मध्यनजर गर्दै मानुङकोट जग्गालाई व्यवस्थापन गर्न खोजेका हौ ।”

नगरप्रमुख न्यौपानेका अनुसार मानुङकोटमा रहेका केही सार्वजनिक जग्गालाई पनि जग्गा विकास कार्यक्रममा समावेश गरेर लगिनेछ ।
रासस

You might also like
Ram Tulasi Palpa

Comments are closed.