कृष्ण न्यौपाने/दमौली । तनहुँको व्यास नगरपालिकाले कृषि विकास बैंकको भवनमा सञ्चालन गरेको आइसोलेशनका लागि एमबिबीएस चिकित्सक नियुक्त गरेको छ । आइसोलेशनमा बस्ने सङ्क्रमितको उपचारका लागि नगरपालिकाले चिकित्सक नियुक्त गरेको हो । नगरपालिकाले कृषि विकास बैंकको भवनमा ५० जना बस्न मिल्ने गरी आइसोलेशन तयार गरेको छ । घरमा बस्न नमिल्ने तथा विपन्न आर्थिक अवस्थाका सङ्क्रमितलाई राख्नका लागि नगरपालिकाले सामूहिक आइसोलेशन बनाएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।
उक्त आइसोलेशनमा प्रारम्भिक परीक्षण र अक्सिजनसमेतको व्यवस्थापन गरिनेछ । जटिल बिरामीलाई अस्पतालसम्म पु¥याउने कार्यका लागि निःशुल्क एम्बुलेन्सको समेत व्यवस्थापन भइसकेको न्यौपानेले बताए । “सामान्य सङ्क्रमितलाई वडाका स्वास्थ्य फोकल व्यक्तिको निगरानीमा होम आइसोलेशनमा राख्छौँ, घरमा बस्ने वातावरण नभएका र विपन्न वर्गका सङ्क्रमितलाई राख्न आइसोलेशनको व्यवस्थापन गरेका छौँ”, न्यौपानेले भने ।
यसैबीच नगरपालिकाले कोभिड–१९ को विरुद्ध नगर क्षेत्रमा सञ्चालन गरेको अभियानको प्रभावकारिता सम्बन्धमा समीक्षा गर्ने क्रम शुरु गरेको छ । नगरपालिकाले हरेक दिन बिहान ८ः३० बजे अभियानको समीक्षा गर्न शुरु गरेको हो । नगरप्रमुख वैकुण्ठ न्यौपानेको संयोजकत्वमा, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सम्बन्धित वडाका वडाध्यक्ष र स्वास्थ्य प्रमुखको उपस्थितिमा समीक्षा गर्न शुरु गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले कोभिड–१९ का लागि आवश्यक औषधिजन्य एवं अन्य स्वास्थ्य उपकरण उपलब्ध गराइदिन एसओएस बालग्राम र गोरखा वेलफेयर ट्रष्टमा सहयोगका लागि अनुरोध गरेको छ । हरेक दिन हुने समीक्षाका क्रममा वडा एवं नगरस्तरमा कोभिड–१९ का विरुद्ध सञ्चालन गरिएका कार्यक्रम, त्यसको प्रभावकारिता, नगरवासीबाट आएको गुनासोलाई कार्यान्वयन गर्न चाल्नुपर्ने कदमलगायतका विषयमा छलफल गर्ने गरिएको छ ।
रासस
Comments are closed.