निरन केसी
उपाध्यक्ष (वाडा) एवं अटो शो संयोजक
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) को आयोजनामा पोखरामा ‘वाडा अटो शो २०२५’ सुरु भएको छ । चैत १४ देखि १७ सम्म हुने ‘अटो शो’ का सन्दर्भमा केन्द्रित रहेर वाडाका उपाध्यक्ष एवं अटो शो संयोजक निरन केसीसँग गरिएको संक्षिप्त कुराकानीः
नाडा र वाडाको संयुक्त आयोजनामा पोखरामा पहिलो पटक अटो शो सुरु भएको छ, अटो शो को मुख्य आकर्षण के–के छन् ?
हामीले पोखरामा पहिलो पटक ‘वाडा अटो शो २०२५’ आयोजना गरेका छौं । पोखराको अमरसिंहचौरमा बिहिवारदेखि सुरु भएको छ । यो नेपाली अटोमोबाइल उद्योगका लागि महत्वपूर्ण अवसर हो । देशभरमा रहेका अटोमोबाइलका प्रमुख ब्राण्डलाई एकै स्थानमा देखाउने अवसर अटो शोमा मिलेको छ । विद्युतीय गाडीको बाहुल्यता देखिएको छ । संसारभर इभी क्षेत्रमा भित्रिएका नविनतम प्रविधिलाई नजिकबाट बुझ्न तथा एउटै थलोमा धेरै ब्राण्डको अनुभव लिनका लागि अटो शो महत्वपूर्ण अवसर बन्नेछ ।
अटो शो मा कुन–कुन प्रमुख ब्राण्डको सहभागिता रहनेछ ?
पोखरामा पहिलो पटक हुन लागेको अटो शोमा विद्युतीय चारपाँग्रेतर्फ बिवाइडी, एक्स्पेङ, काई, दीपल, हुन्डाई, टाटा, एमजी, स्काइवेल, रिडारा, सेरेस, ओमोडा, जेको, सिट्रोन, जिकर, नामी, किया, लिपमोटर लगायतका ब्राण्डले स्टल राखेका छन् । आइसतर्फ टोयोटा, सुजुकी, किया, इसुजु, निशान, महिन्द्रा, लगायतका गाडीहरुको पनि सहभागिता छ । हुन्डाई, टाटाले इभीसँगै आइस गाडीलाई पनि सोकेस गर्नेछ । दुईपाँग्रेतर्फ एथर, टिभिएस, यामाहा, बजाज, ट्राइम्प, रोयलइन्फिल्ड लगायतका ब्राण्डले दर्शकलाई आकर्षित गर्ने विश्वास गरिएको छ । कामा, न्यु गो नाउ, स्काइवर्थ, हाइगर, डङफेङ जस्ता ब्राण्डहरूले आफ्नो लाइट कमर्शियल गाडीको प्रदर्शन गर्नेछन् ।
नेपालमा विद्युतीय गाडीहरूको लोकप्रियता बढ्दो छ । तपाईको विचारमा यो अटो शोले इभी बजारमा कस्तो प्रभाव पार्नेछ ?
नेपालमा विद्युतीय गाडीमा क्रेज बढ्दो छ । देशभरको बजारमा जस्तै पोखरामा पनि इभीमा आकर्षण देखिएको छ । नेपालमा बिक्री हुने प्राय सबै ब्राण्डका शोरुम पोखरामा छन् । अटो शोमा पनि इभी गाडीको बाहुल्यता छ । उपभोक्ताले अब इभीको पक्षमा झुकाव बढाएका छन् । ग्रीन टेक्नोलोजी र इन्धन खर्चको कमि गर्ने प्रवृत्तिको कारण पनि विद्युतीय गाडीमा बढी चासो देखिन्छ । यो अटो शोले यस्तो प्रवृत्तिलाई थप प्रोत्साहन दिने विश्वास छ र हामीलाई पक्का विश्वास छ कि यो कार्यक्रमले धेरै दर्शकलाई आकर्षित गर्नेछ ।
अटो शो मा अन्य के–कस्ता सुविधाहरू उपलब्ध हुनेछ ?
ग्राहकको लागि हामी स्पट एक्स्चेन्ज र फाइनान्सिङको सुविधा उपलब्ध गराउनेछौं । यो सुविधा अटो शो मा आउने सबै दर्शकका लागि प्रयोग गर्न सकिनेछ, जसले गाडी खरिद गर्न इच्छुक ग्राहकलाई विशेष अवसर प्रदान गर्नेछ । साथै, अटो कम्पोनेन्ट्स, इन्स्योरेन्स र ग्यारेज उपकरण जस्ता अतिरिक्त कम्पनीको स्टल पनि रहनेछन्, जसले एक समग्र अनुभव प्रदान गर्नेछ ।
अन्त्यमा के भन्नुहुन्छ ?
पोखरामा पहिलो पटक आयोजना भएको अटो शो, यहाँको बजारमा अटोमोबाइलको ठूलो माग छ । हामीलाई विश्वास छ कि यो अटो शो पोखरामा अटोमोबाइल उद्योगको लागि एक नयाँ सुरुवात हुनेछ । यसले पोखराको पर्यटन र व्यापार क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्ने छ र भविष्यमा अटो सो आयोजना गर्ने क्रममा अझ ठूलो सहभागिता र सफलता हासिल हुनेछ ।
Comments are closed.