शुक्रवार रातिदेखि नेपालमा नेपालमा वर्षा हुने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान महाशाखाले शुक्रवार रातिदेखि नेपालका विभिन्न भूभागमा वर्षा हुने सम्भावना रहेको जनाएको छ ।मौसम पूर्वानुमान शाखाका अनुसार शनिवार बेलुकासम्म पश्चिम नेपालका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने देखिएको हो ।

महाशाखाका अनुसार विशेष गरी सुदूरपश्चिम प्रदेशमा वर्षा सुरु भई कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। वर्षासँगै उच्च हिमाली भूभागमा मध्यम खालको हिमपात पनि हुनसक्ने शाखाले जनाएको छ ।

मौसम पूर्वानुमान शाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार यो पश्चिमबाट भित्रिने प्रणालीका कारण शुक्रवार रातिदेखि शनिवार बिहानसम्म पश्चिम नेपालमा वर्षा हुने देखिएको छ । “यो ठूलो झरी पार्ने खालको प्रणाली भने होइन,” उनले भने, “पहिलो हिउँदे वर्षाका रूपमा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च हिमाली भूभागमा मध्यम हिमपात पनि देखिन्छ ।”

उनका अनुसार यस प्रणालीको प्रभाव काठमाडौंसम्म आइपुग्दा हल्का वर्षा वा बदलीको सम्भावना रहे पनि पूर्वी नेपालमा भने वर्षा नहुने अनुमान छ। मौसम शनिवार दिउँसोदेखि क्रमशः खुल्दै जाने पनि उनले जानकारी दिए ।

महाशाखाका अनुसार माघ १३ गते मंगलवार रातिदेखि अर्को प्रणाली भित्रिने सम्भावना छ । सो प्रणालीका कारण मंगलवार रातिदेखि बुधवारसम्म हल्का वर्षा हुने र उच्च हिमाली भूभागमा मध्यम खालको हिमपातको सम्भावना रहेको वरिष्ठ मौसमविद् पौडेलले बताए । त्यसपछि मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ ।

यसअघि गत साता पूर्वी नेपालका ताप्लेजुङलगायतका केही जिल्लामा हल्का वर्षा भए पनि उल्लेखनीय हिमपात भने भएको थिएन । हाल देशभर मौसम मुख्यतया सफा रहे पनि तराईका केही भूभागमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ भने कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ ।

विज्ञहरूका अनुसार पश्चिमी प्रणालीबाट आउने यो वर्षाले लामो समयदेखि देखिएको सुक्खा र धुलोयुक्त वातावरणमा केही राहत दिन सक्नेछ । यस वर्षको हिउँदमा सामान्यभन्दा कम वर्षा र औसतभन्दा माथि तापक्रम रहेको अवस्थामा यो वर्षाले कृषि, वायु प्रदूषण नियन्त्रण र जलस्रोतमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

You might also like

Comments are closed.