उच्च गुणस्तरीय “बेल्ट एन्ड रोड” सहयोगमा चीन प्रतिबद्धः सी चिनफिङ

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले उच्च गुणस्तरीय “बेल्ट एन्ड रोड” (बिआरआई) सहयोगमा अन्य पक्षसँगको साझेदारीलाई थप सुदृढ गर्न र यस अभियानलाई निरन्तरता दिन चीन प्रतिबद्ध रहेको बताएका छन् ।

बोआओ मञ्चको वार्षिक शिखर बैठकको उदघाटन समारोहमा भिडियो कन्फरेन्स मार्फत मङ्गलबार सम्बोधन गर्दै राष्ट्रपति चिनफिङले सबै देशका जनताको जीवन र स्वास्थ्य सुरक्षित गर्नका लागि सङ्क्रामक रोग नियन्त्रण, जनस्वास्थ्य, परम्परागत औषधि र अन्य क्षेत्रमा विभिन्न पक्षसँग स्वास्थ्य साझेदारीका कार्यलाई थप विस्तार गरिने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, चीनले सम्पर्क सञ्जालका लागि सुदृढ साझेदारी निर्माण गर्नेछ, एवं “हार्ड” र “सफ्ट” जस्ता सबै किसिमका पूर्वाधार निर्माणलाई प्रबद्र्धन गर्न सबैसँग मिलेर कार्य गर्न चीन तत्पर छ ।

उनले स्वच्छ विकासका लागि चीनले अझ निकट साझेदारी निर्माण गर्ने बताउँदै अन्य मुलुकलाई पनि हरित पूर्वाधार, हरित ऊर्जा र हरित वित्तका क्षेत्रमा पारस्परिक सहयोगलाई थप सुदृढ गर्न आग्रह गरे ।

राष्ट्रपति सी ले बिआरआई अन्तर्राष्ट्रिय हरित विकास साझेदारीलाई थप सुधार गर्न आग्रह पनि गरे । उले बेल्ट एन्ड रोड (बिआरआई) लाई गरिबी निवारण र वृद्धिका लागि एउटा अवसरका रुपमा उपयोग गर्न पनि सबै इच्छुक साझेदार मुलुकहरुलाई आह्वान गरे ।

सन् २०३० सम्ममा बिआरआई परियोजनाले करिब ७६ लाख मानिसलाई चरम गरिबीबाट मुक्त गर्ने तथा तीन करोड २० लाख मानिसलाई मध्यम किसिमको गरिबीबाट माथि उकास्ने छ, विश्व बैंकको प्रतिवेदन उद्धृत गर्दै राष्ट्रपति सी ले बताए ।

उनले भने, “हामी खुलापन र समावेशी सिद्धान्तलाई अंगाल्ने छौं, बिआरआईलाई गरिबी निवारण र आर्थिक वृद्धिका निम्ति इच्छुक मुलुकसँग मिलेर कार्य गर्न चीन प्रतिबद्ध छ ।”

You might also like

Comments are closed.