काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपले नेपाली बजारमा आफ्नो सेवा विस्तार गर्दै याङ्गो एपमार्फत एक्सप्रेस तथा कार्गो डेलिभरी समाधान ‘याङ्गो डेलिभरी’ सेवा सुरु गरेको छ, जसले काठमाडौँभित्र व्यक्ति–व्यक्ति (P2P) तथा साना तथा मध्यम व्यवसाय (SMEs) का लागि छिटो, लचिलो र प्रभावकारी पार्सल ढुवानी सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ ।
नयाँ सेवासँगै अब याङ्गो एपमार्फत राइड–हेलिङ र डेलिभरी दुवै सेवा एउटै प्लेटफर्ममा उपलब्ध भएका छन् । याङ्गो डेलिभरीअन्तर्गत प्रयोगकर्ताहरूले मोटो कुरियर (कागजात तथा साना प्याकेज), कार कुरियर (मध्यम आकारका सामान) र कार्गो सेवा (ठूला तथा भारी सामान) गरी तीन प्रकारका विकल्प रोज्न सक्नेछन् ।
शहरी जीवनशैलीसँगै छिटो र भरपर्दो ढुवानी सेवाको माग बढ्दै गएको सन्दर्भमा यी इन–एप विकल्पहरूले व्यक्तिगत प्रयोगकर्ता र साना व्यवसायलाई सहज बनाउने याङ्गोको विश्वास छ। याङ्गो डेलिभरीका दक्षिण एशियाका क्षेत्रीय प्रमुख मोहम्मद अहसान अकबरले सानो पार्सलदेखि ठूलो सामानसम्म एपमार्फत सजिलै डेलिभरी गर्न सकिने बताए ।
आधुनिक रुटिङ तथा ब्याचिङ एल्गोरिदम प्रयोग गरी सञ्चालन हुने यस सेवामा लाइभ ट्रयाकिङ सुविधा पनि उपलब्ध छ । याङ्गोले आफैं सवारी साधन सञ्चालन नगरी स्थानीय नेपाली यातायात कम्पनीहरूसँग सहकार्य गर्दै अन्तिम माइल कनेक्टिभिटीमा प्रविधि प्रयोग बढाउने जनाएको छ । याङ्गो ग्रुपले मे २०२५ मा ‘याङ्गो’ सिटी सर्भिसेस एपमार्फत नेपाली बजारमा प्रवेश गरेको हो, जहाँ हाल राइड–हेलिङ र डेलिभरी दुवै सेवा उपलब्ध छन् ।




Comments are closed.