नेपाली सेनाको हेलिकोप्टरमार्फत २५ जनाको शव काठमाडौँ ल्याइयाे

काठमाडौँ । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये २५ जनाको शव काठमाडौँ ल्याइएको छ । नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत शव भर्खरै ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले जनाएको छ ।

क्यानका अनुसार बाँकी २३ शव भने अर्को हेलिकोप्टरबाट काठमाडौँ आउने क्रममा छ । दुर्घटनामा प्राप्त ७० शवमध्ये २२ वटाको सनाखत भई आफन्तलाई पोखरामा बुझाउने व्यवस्था मिलाइएको क्यानले जनाएको छ ।

क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार शव बोकेको सेनाको हेलिकोप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । सुरुमा शिक्षण अस्पताल महाराजगञ्जमै हेलिकोप्टर अवतरण गर्ने तयारी गरिएपनि त्यहाँ हुन नसकेपछि पुनः विमानस्थलमा अवतरण भएको छ ।
विमानस्थलबाट शव शिक्षण अस्पतालमा लगेर परीक्षणपछि आफन्तलाई बुझाइने प्रवक्ता निरौलाले बताए ।

 

You might also like

Comments are closed.