पर्वतीय उडान सुरु भएसँगै उत्साह बढ्यो

 

काठमाडौं । झण्डै १० महिनापछि शनिबार यती यरलाइन्सले पहिलो पर्वतीय उडान गरेकोे छ । कम्पनीले प्रत्येक शनिबार एउटा उडान गर्नेगरी बुकिङ शुरु गरेको भए पनि यात्रुको मागबमोजिम दुई उडान गरिएको विज्ञप्तिमार्फत जनाएको हो । एयरलाइन्सका हवाई सुरक्षा प्रमुखसमेत रहेका प्रवक्ता सुदर्शन बर्तौलाले यात्रुको माग बढेकाले अब प्रत्येक शनिबार एटीआर–७२ जहाजमार्फत दुई वटा पर्वतीय उडान हुने बताए ।

“हाम्रो सगरमाथाकै उचाइ बराबरको भाडादरमा दुई वटा टिकट पाइने आकर्षक प्याकेज, सङ्क्रमणरहित उडानका लागि हामीले अपनाएका विधि र प्रक्रियाप्रति यात्रुको विश्वास बढेकाले हामीलाई अझ उत्साहित बनाएको छ”, उनले भने । बिहान ७ः२० मा पहिलो उडान भरेको यतीले आज ९२ जना यात्रुलाई पर्वतीय उडानमा लगेको थियो । नेपाली यात्रु तथा आवासीय विदेशी नागरिक र भारतीय नागरिकका लागि छुट्टाछुट्टै प्याकेज ल्याएको यतीले दुई टिकटका लागि क्रमशः ८ हजार ८४८ रुपैयाँ र र १३ हजार २७५ रुपैयाँ भाडादर तोकेको छ ।

पर्वतीय उडान काठमाडौँबाट आवतजावत गरी एक घण्टाको हुन्छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान शुरु भई गणेश हिमाल, सगरमाथा हुँदै कञ्चनजङ्घा हिमाल नजिक पुगेर पुनःकाठमाडौँमा अवतरण हुन्छ । अग्ला हिमालसँगै महाभारत पर्वत शृङ्खलाको रमणीय दृश्य हेर्न स्वदेशी तथा विदेशी पर्यटक लालायीत हुन्छन् । आन्तरिक उडानका लागि हाल १० हेलिकप्टर कम्पनीसहित १९ वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

You might also like

Comments are closed.