गण्डकी प्रदेशमा विप्लव समूह सानो संख्यामा मात्रै

 

पोखरा, २४ चैत

गण्डकी प्रदेशमा विप्लव समूह सानो संख्यामा मात्रै रहेको निश्कर्ष निकालिएको छ । शनिबार र आइतबार पोखरामा भएको गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीले गण्डकी प्रदेशमा विप्लव समूह सानो संख्यामा मात्रै निश्कर्ष निकालेको हो । यद्वपी सुरक्षा बैठकले विप्लव समूहलाई सुरक्षा चुनौतिको पहिलो नम्बरमा राखेको छ ।

सुरक्षा बैठकमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले गण्डकी प्रदेशमा विप्लव समूहको सुरक्षा चुनौति भएपनि उनीहरुको समूह सानो मात्रै भएकाले नियन्त्रण गर्न सकिने रिपोर्टिङ गरेको बैठकमा सहभागि एक सुरक्षा अधिकारीले जानकारी दिए । उनीहरुले हाल सुरक्षा चुनौति नदेखिएपनि सम्भावित सुरक्षा चुनौति चिर्न उच्च सुरक्षा सतर्कता अप्नाउनुपर्नेमा जोड दिए ।

त्यस्तै गण्डकी प्रदेशको सुरक्षा चुनौतिमा गिट्टी वालुवा उत्खनन्मा हुने दादागिरी र विवादलाईपनि सुरक्षा चुनौतिको रुपमा राखिएको छ । यसैगरी विश्वविद्यालयमा उत्पन्न हुने विवाद र त्यसबाट उत्पन्न परिस्थिति, उपदान माग गर्दै भइरहेको चिकित्सकहरुको आन्दोलनलगायत पनि सुरक्षा चुनौतिको रुपमा हेरिएको बताइएको छ ।

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव रामकृष्ण सुवेदीले नियमित बैठक अन्तर्गत गण्डकी प्रदेश स्तरिय सुरक्षा गोष्ठी भएको जानकारी दिए ।

गोष्ठीमा गृहमन्त्री रामबहादुर थापा बादलले सुरक्षा ब्यबस्था सुदृढ बनाउन निर्देशन दिए ।

गण्डकी प्रदेशमा विप्लव समूहका १५ जना बढी पक्राउ परिसकेका छन् । गण्डकी प्रदेशमा कास्की, तनहुँ, पूर्वी नवलपरासीलगायतका जिल्लाबाट विप्लव समूहका कार्यकर्ता पक्राउ परेका छन् । गण्डकी प्रदेशको मनाङ र मुस्ताङ जिल्लामा भने विप्लव समूहको उपस्थिति अत्यन्त न्यून मात्रै रहेको बताईन्छ ।

You might also like

Comments are closed.