पदमार्ग चिनाउन नगरपालिकाको अभियान

सुनिता आचार्य
तनहुँ, ५ बैशाख
साविक क्यामिन, सतिस्वारा, मिर्लुङ र रिस्ती गाविसको पहिलो अक्षरको संयोजनबाट नामाकरण गरिएको क्यासमिरी पदमार्ग चिनाउन व्यास नगरपालिकाकाले सक्रियता देखाएको छ ।
जिल्लाको उत्कृष्ट पदमार्गको रुपमा लिएको उक्त पदमार्ग चिनाउन व्यास नगरपालिका पर्यटन प्रवद्र्धन समितिले २ दिने परिचात्मक भ्रमण सम्पन्न पनि गरेको छ । पदमार्गको वस्तुस्थिती बुझ्न र विगतमा भएका गतिविधि अवलोकन गरी आगामी दिनमा पर्यटन पदमार्गको विकासका लागी आवश्यक योजना तर्जुमा गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले पदयात्रा गरिएको समितिले जनाएको छ ।

साथै नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२०लाई समेत सहयोग पु¥याउन पदमार्गलाई आवश्यक सुधारको पुर्व तयारी गरिएको पर्यटन विज्ञ हरिसिं गुरुङले जानकारी दिए ।  पदमार्ग क्षेत्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक वस्तुस्थितीका बारेमा बुझी आगामी बजेटमा सम्बोधन गर्न पनि परिचात्मक भ्रमण गरिएको  उद्योग, पर्यटन तथा संस्कृति संरक्षण शाखाका प्रमुख विमल गिरीले बताए ।

२८ किलोमिटर तय गरिएको १ रात २ दिनको भ्रमण तालिका रहेको सो पदमार्गमा पर्यटन विज्ञ, जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मी समेतको टोलीले स्थलगत भ्रमण गरी विभिन्न ठाँउका स्थानीयसँग अन्तरक्रिया गरी आवश्यक सल्लाह र परामर्श दिई उनीहरुको सुझाव संकलन समेत गरेको थियो ।
व्यास–७ साढीको बँगैचाबाट सुरु भएको क्यासमिरी पदयात्रा लमजुङको सुन्दरबजार नगरपालिका–१कुन्छामा गएर टुङगिएको थियो । टोलीले पदमार्गमा पर्ने पर्यटकीय सम्भावना बोकेका गाँउ, धार्मिक स्थल, ऐतिहासिक क्षेत्र, सांस्कृतिक कार्यक्रम तथा प्राकृतिक दृश्यावलोकन गरेको थियो ।

व्यास–९जौवारी होमस्टेमा आयोजित कार्यक्रममा बोल्दै नगरप्रमुख बैकुण्ठ न्यौपानेले पर्यटन, कृषि र शिक्षालाई विशेष प्रथामिकता दिएको बताए । गाँउमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न मौकिलता र स्थानीय उत्पादनमा जोड दिन उनले आग्रह गरे । मानिसहरु शान्त र स्वच्छ वातावरणमा रमाउन गाँउ आउने चर्चा गर्दै न्यौपानेले मौलिकता बिगार्ने काम नगर्न स्थानीयलाई सुझाव दिए ।

त्यस्तै उपप्रमुख मिरा जोशीले स्थानीय उत्पादनलाई उपयोग गर्न सके समृद्धिको अभियानमा अघि बढ्न सकिने बताइन् । अबको समयमा निर्वाहमुखी भएर आर्थिक रुपमा समृद्ध हुन सकिदैन, आर्थिक रुपमा बलियो हुन व्यवसायिक सोच हुन आवश्यक छ उनले भनिन् ।  कार्यक्रममा व्यास २ का वडा अध्यक्ष एवम् व्यास नपा पर्यटन प्रवद्र्धन समितिका संयोजक काशीराम श्रेष्ठ, व्यास ९का वडा अध्यक्ष सुरेश थापा, व्यास ११का अध्यक्ष निरबहादुर खड्काले नगरपालिकाकाले पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुको पहिचान
गरी सोही अनुसार विकास गर्न सके समृद्ध नपाको सपना पुरा हुने बताए । गाँउमा होमस्टे जस्तै अन्य व्यवसायिक क्रियाकलापलाई बढाउन सके गाँउबाट मानिसहरु विस्थापित हुने अवस्था अन्त्य हुने उनीहरुले विश्वास व्यक्त गरे ।

क्यासमिरी पदमार्गको विशेषता

साविकका चार गाविसको संयोजनबाट नामाकरण गरिएको भएपनि हाल अधिकांश क्यासमिरी क्षेत्र व्यासमा पर्दछ । क्यासमिरी तनहुँका उत्कृष्ट पाँच पदमार्ग मध्येको एक हो । समुन्द्री सतहबाट करिब ४ सय मिटर देखी १६५४मिटरसम्म फैलिएको सो पदमार्ग क्षेत्र ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवम् प्राकृतिक दृष्टिले उत्कृष्ट भएको क्यासमिरी पर्यटन शम्शेरबहादुर कुवँरले जानकारी दिए ।

यस पदमार्ग अन्तर्गत तनहुँकै दोस्रो अग्लो चुचुरो मिर्लुङकोट, सहिद गाँउ पुलिमराङ, प्रसिद्ध धार्मिक स्थल क्यामिन कालिका, राजापानी महादेव, बसाहस्थान, ठुलोढुङ्गा, भंगेरथान, गुम्बा आदि पर्दछन् । त्यति मात्र होइन यो पदमार्गमा कृषिका लागी उर्वर उपत्यका प्राङ्गारिक कफी खेती, मौरी एवं पशुपालनका दृष्टिकोणले समेत उत्कृष्ट मानिएको कुवँरले बताए । यस क्षेत्रमा पाथ्रा, बेसीगैरा, छापथोक, सामाली,टुटेपानी, बासपानी, रयाले, पुलिमराङ, कुसिमराङ जस्ता गुरुङ गाँउका साथै अन्य जातजातीका साँस्कृतिक विविधता अवलोकन गर्न सकिन्छ ।

नमुना गाँउ छापथोक

छापथोक गाँउ ६ वर्ष अघि नेपाल सरकारले नमुना गाँउको रुपमा छनोट गरेको गाँउ हो । समुन्द्र सतहबाट ७ सय मिटर उचाइमा फैलिएको छापथोक गाँउ तनहुँको सदरमुकाम दमौलीबाट १४ किलोमिटर उत्तर तर्फ अवस्तिथ छ । सुन्दर सफा र हराभरा गाँउबाट मादी उपत्यका र अन्नपुर्ण हिमश्रृङखलाको मनोरम दृश्वालोकन गर्न सकिन्छ । ढुङ्गा चिढेर वनेका बाटा तथा गल्लीहरुले गाँउलाई झनै आकर्षक बनाएको छ ।

२८ घर गुरुङहरुको बसोबास रहेको छापथोक सांस्कृतिक दृष्टिकोणले समेत उत्कृष्ट गाँउ हो । पर्यटकीय दृष्टिकोणले प्रवल सम्भावना बोकेको गाँउ छापथोकमा अपेक्षित बिकास नभएको स्थानीय गुनासो गर्छन् । होमस्टेका लागी उपयुक्त गाँउ भएपनि आवश्यक पुर्वाधार र ज्ञानको अभावमा गाँउमा होमस्टे सञ्चालन गर्न नसकेको स्थानीय रुपा गुरुङ बताउछिन् । उनी छापथोक तमु आमा समूहकी सचिव हुन् ।

गाँउलेहरुमा एकता नहुदाँ, पाहुँनालाई राख्न सक्ने खालका घर नहुदाँ गाँउमा होमस्टे दर्ता गर्ने आटँ गर्न सकेको छैन उनले भनिन् । गाँउमा युवाहरु छैनन्, भएका पनि विस्तारै विस्थापित हुदै गएका छन् स्थानीय टेकबहादुर गुरुङले गुनासो गरे । ‘गाँउ सानो छ त्यसमाथि भएका मान्छेहरु पनि विस्तारै गाँउ छोड्दै गएका छन्’ उनले भने ।

२८ घर मध्ये २२ घर आमा समूहमा आवद्ध भएर मासिक बचत गरी कोषमा करिब ७ लाख जम्मा गरेको समूहकी अध्यक्ष सुकमाया गुरुङले जानकारी दिएन् । उनीहरु कोषको पैसा २ रुपैयाँ व्याजमा आवश्यक पर्दा लिएर ब्राखा, कुखुरा पाल्ने गर्छन् । व्यवसायिक सोच नहुदाँ गाँउ पछाडि परेको उनीहरु बताउछन् ।

प्रसिद्ध धार्मिक स्थल क्यामिन कालिका

व्यास ८ कोटथोक स्थित क्यासमिरी पदमार्गमा पर्ने क्यामिन कालिका मन्दिर प्रसिद्ध धार्मिक स्थल हो । कालिका मन्दिर साविक क्यामिन गाविसमा पर्दछ । यस मन्दिरमा साविका १ देखी ८सम्म वडाको पुजा हुन्छ । पुस र साउन महिना बाहेक प्रत्येक महिनाको अष्टमीको दिन पुजा गरिने यस मन्दिरमा बडा दशैं र चैते दशैंमा विशेष पुजा गरिदै आएको स्थानीय सम्शेर कुवँरल जानकारी दिए । पुजा गर्दा हरेक वडाबाट एउटा पाठी अनिवार्य ल्याउनुपर्ने उनले बताए ।

मन्दिरमा पाठी, राँगो, हाँस, परेवा र भेडा गरी पञ्चबली दिने प्रचलन रहेको छ । यहाँ पञ्चवली दिदा इच्छाएको पुग्ने जनविश्वास रही आएको छ । मन्दिरमा ३÷४ सय वर्ष पुराना घण्टाहरु समेत अवलोकन गर्न पाइन्छ । साथै मन्दिर परिसरमा २४ सय राज्यको पालोमा सुरक्षाको लागी बनाएको गढी समेत छ । क्यामिन कालिका मन्दिरलाई गोर्खा कालिकाको बहिनी समेत भनिने स्थानीय बताउछन् ।

पर्यटनको नव गन्तव्य टुटेपानी

समुन्द्री सतह देखि १२७५ मि. उचाईमा र सदरमुकाम दमौलीबाट २१ कि.मिटरको दुरीमा रहेको टुटेपानी होमस्टे पर्यटनको नव गन्तव्य बन्दै गएको छ । सफा र स्वच्छ गाँउ टाढैबाट देखिने राता जस्ताको छाना , आकर्षक ढंगले बनाइएको बाटो, प्रत्येक घरको आँगनमा ढकमक्क फुलेका फुलले टुटेपानी गाँउलाई शुभोभित बनाएको छ ।

गाँउमा प्रवेश गर्दैमा बाँसुरीको मिठो धुनले हातमा फुलका गुच्छा लिएर, लाईनबद्ध भएर मौलिक भेषभूषामा सजिएका पुरुष अनि महिलाले गर्ने स्वागत मनै लोभ्याउने खालको छ ।
गुरुङ समुदायको बाहुल्यता रहेको उक्त गाँउमा ३० घरधुरीमध्ये १६ घरमा होमस्टे संचालन गरिएको छ । प्राकृतिक दृश्यावलोकन, मिर्लुङ्गकोट भयँर थान दर्शन, हरियाली वनजंगलको अवलोकन, शिद्ध गुफा होमस्टेका आकर्षण हुन् । गुरुङ समुदायको संस्कृतिमा आधारित घाटु, सोरठी ,चुट्का ,पाङदुरे नाच जस्ता मौलिक लोक प्रस्तुतीमा रम्न चाहनेका लागी टुटेपानी उत्कृष्ट गन्तव्य बन्दै गएको टुटेपानी होमस्टे व्यवस्थापन समितिका अध्यक्ष क्या. होम बहादुर गुरुङ बताउछन् ।

भुटेको मकै, साँधेको गुन्द्रुक भटमास, कोदो र फापरको रोटी ,गाउँमै उत्पादन गरेको अण्डा, लोकल कुखुरा, खसीको माँसु साथै अन्य उत्पादन होमस्टेको विशेषता हो । होमस्टेमा पुग्ने पाहुनालाई साँझको खाजा, खाना, रातीको बास तथा बिहानाको नास्ता, खानाका साथै साँस्कृतिक कार्यक्रम सहित प्याकेजमा प्रतिव्यक्ती १२ सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

उक्त होमस्टेमा आउने पाहुनाहरुको स्वागत सत्कारका साथै साँस्कृतिक कार्यक्रम प्रदर्शनमा स्थानीय शान्ति युवा क्लव, सुनदेवी आमा समुहले सहयोग गर्ने गरेको छ । त्यस्तै, होमस्टेलाई थप प्रवर्द्धन गर्ने उद्देश्यले पशु र्फम पोखराले स्थानीय लेयर्स जातका कुखुरापालन कार्यक्रम समेत सञ्चालन गरिदिएको छ ।

होमस्टेलाई जिल्लाकै नमुना होमस्टे बनाउने उद्देश्यले तत्कालिन जिविसले आधारभूत कार्यक्रमहरु सञ्चालन गरेपनि मुलुक संघीयतामा गएसंगै बनेका स्थानीय तहले भने ग्रामीण पर्यटन प्रवर्द्धनका कार्यक्रम मार्फत खासै साथ र सहयोग नपाएको होमस्टे सञ्चालकहरुको गुनासो छ । होमस्टेसम्म पुग्ने बाटो सहज नभएकाले सोचे जति पर्यटक भित्र्याउन नसकिएको अध्यक्ष गुरुङले बताए । त्यस्तै गाँउमा खानेपानीको समस्या पनि होमस्टे सञ्चालनको चुनौती बनेको छ ।  गाँउमा पानी कुवाँबाट बोक्नु बाध्यता भएको उनी बताउछन् ।

त्यस्तै गरी व्यास –९, गुरुङ जौबारीका स्थानीय होमस्टे व्यवस्थापनमा जुटेका छन् । गण्डकी प्रदेश सरकारले १ सय ९० सामुदायिक होमस्टेलाई १०÷१० लाख रुपैयाँ रकम दिने निर्णय अनुसार अनुदान पाएको जौबारीका स्थानीयहरु अहिले होमस्टे सञ्चालनमा निकै उत्साहित भएका छन् । बसाइसराइका कारण गाँउ नै रित्तिएला भन्ने डर थियो होमस्टेले गाँउमा चहलपहल बढेको छ होमस्टे व्यवस्थापन समितिकी सचिव अञ्जली गुरुङले भनिन् ।

जौबारीका १० वटा घरमा होमस्टे सञ्चालन गरिएको अध्यक्ष रामबहादुर गुरुङले बताए । जौबारीका स्थानीय अहिले होमस्टेको आवश्यक पूर्वाधार निर्माणमा ब्यस्त छन् । पाहुना सुत्ने कोठा, शौचालय र बाथरुम बनाउदै गरेको गुरुङले बताए ।

जातीय विविधता

क्यासमिरी पदमार्ग प्राय सबै ग्रामीण परिवेशमा रहेको छ । यस क्षेत्रका प्रमुख व्यापारिक स्थलहरुमा कलेस्ती बजार, गजौडे, कात्तिकेचौर, दलभञ्याङ, पोखरीछाप, बयापानी हुन् । यसका मुख्य फाँट तथा वेसीहरु कलेस्ती, चुदीँ, र रिस्ती हुन् । धान, मकै, कोदो, यहाँका प्रमुख बाली हुन् ।

त्यस्तै यस क्षेत्रमा सुन्तला, नास्पति जस्ता फलफुल पाइन्छ । यहाँ मुख्यगरी गुरुङ जातीको बहुल्यता छ । ब्राह्मण, क्षेत्री, नेवार, मगर, कामी दमै, कुमाल, बोटे, भुजेल, तमाङ, ठकुरी लगायतका जातजाती समेत बसोबास गर्छन् ।

क्यासमिरी पदमार्गमा तनहुँको छापथोक र लमजुङको कुन्छा दुवै तर्फबाट यात्रा आरम्भ गर्न सकिन्छ ।

You might also like

Comments are closed.