आन्तरिक भ्रमण वर्ष प्रभावकारी बनाउन सरकारलाई अर्थ तथा विकास समितिको निर्देशन

आर्थिक आवाज

पोखरा । गण्डकी प्रदेशका अर्थ तथा विकास समितिले आन्तरिक भ्रमण वर्ष २०१९ को काम प्रभावकारी ढंगले सञ्चालन गर्न निर्देशन दिएको छ । समितिले शुक्रबार प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साललाई बोलाएर आन्तरिक भ्रमण वर्ष २०१९ सोंचेजस्तो प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको निश्कर्ष निकाल्दै बाँकी रहेको समयमा ठोस, मूर्त र ब्यबस्थित कार्ययोजना बनाएर प्रभावकारी ढंगले कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

समितिले छिमेकी देश पर्यटन प्रवद्र्धन वर्ष र २० लाख पर्यटक भित्राउने लक्ष्यसहित घोषणा गरिएको अन्र्तराष्ट्रिय पर्यटन वर्षलाई लक्ष्य पूरा हुनेगरी तयारी गर्नपनि निर्देशन दिएको छ ।

jutta mela

त्यस्तै, समितिले पोखरा महानगरपालिका वडा नम्बर ३०, ३१ र ३२ को जंगलमा निर्माणाधीन पोखरा जुलोजिकल पार्क निर्माणमा देखिएको तत्काल समस्या समाधान गर्नपनि निर्देशन दिएको छ । समितिका तर्फबाट सभापति दीपक कोइरालाले दिएको निर्देशनमा भनिएको छ,‘पचभैया प्राणी उद्यान (जुलोजिकल पार्क) निर्माण सम्बन्धमा स्थानियले जेजस्ता विवाद उत्पन्न भएका छन्, तिनलाई प्रचलित ऐन, कानुनका आधारमा समयमा नै हल गरेर जुलोजिकल पार्कको कामलाई ब्यबस्थित तरिकाले बढाउनू ।’

समितिले गोर्खामा रहेको गोरखकाली रबर उद्योगलाई प्रदेश सरकार मातहत ल्याउन निर्देशन दिएको छ । समितिले यसअघी बनाएको सुझाव समितिले तयार पारेको प्रतिवेदनलाई आधार मानी संघ सरकारसँग समन्वय गरेर प्रदेश सरकार मातहत ल्याउन निर्देशन दिएको हो ।

यसअघी समितिका सदस्यहरुले राखेका प्रश्नहरुको जवाफ दिदै प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले भदौबाट पर्यटनको कामले गति लिने बताए । अहिले बर्षाको समय भएकाले केहि सुस्ताएजस्तो भएको हो,‘उनले भने,‘साउन मसान्तसम्म कार्यविधी निर्माण सक्छौं र भदौबाट कामले गति लिन्छ ।’ उनले गण्डकी प्रदेशमा भदौदेखि पुष सम्ममा मात्रै १५ लाख पर्यटक भित्राउने दाबी गरे । त्यसका लागि पर्यटन प्याकेज घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार होम–स्टेमा १५ प्रतिशत, प्याराग्लाईडिङ २० प्रतिशत, होटल, रेष्टुरेण्टदेखि यातायातसम्म छुट दिनेगरी पर्यटन प्याकेज बनाउने काम भइरहेको छ ।’ उनले पर्यटन दूत घोषणा गर्नेदेखि गैर आवासीय नेपालीहरुको सहयोगमा प्रदेशमा पर्यटक ल्याउने तयारी गरिएको बताए । उनलेसंघीय सांसदले निर्वाचन क्षेत्र विकास कोषबाट प्राप्त गर्ने ६ करोड र प्रदेश सांसदले पाउने २ करोडबाटपनि पर्यटन क्षेत्रको पूर्वाधार निर्माणका लागि बजेट छुट्याउनका लागि आग्रह गर्ने बताए । उनले यो बिचमा प्रदेशका ११० गन्तव्य बनाएर पुस्तक प्रकाशन गरेको, ग्लोरियस गण्डकीलाई व्राण्ड बनाएर प्रचारप्रसार शुरु गरेको, होम–स्टे सञ्चालनका लागि अनुदान वितरण गर्नुका साथै पूर्वाधार निर्माणमा जोड दिएकोलगायतका काम गरेको बताए ।

मन्त्री लम्सालले प्रदेश सरकार आएपछि पर्यटक आगमनमा ह्वात्तै बृद्धि भएको दाबी गरे । हिमाली जिल्लाहरुमा त पर्यटक धेरै भएर उनीहरुलाई राख्नै धौधौ भइरहेको उनले तर्क गरे । मासिक ७ हजार पर्यटक बृद्धि भएको छ,‘उनले भने,‘हामीले गर्दा नै पर्यटक बढेका हुन्, यसले हामी उत्साहित छौं ।’

मन्त्री लम्सालले पर्यटन प्रवद्र्धनका लागि कलाकार र पत्रकारको टोली मेचीदेखि महाकालीसम्म पठाउने तयारी गरिएको बताए । उनीहरुले विभिन्न ठाउँमा गएर रोड–सो गर्नुका साथै प्रचारप्रसार गर्ने उनको भनाई छ । आन्तरिक पर्यटक नै पर्यटनको मुख्य आधार भएको बताउँदै उनले भ्रमणको बानी बसाल्न प्रदेशका सबै २ हजार २ सय कर्मचारीलाई नै घुम्नका लागि खर्च दिएर पठाउन लागेको बताए । त्यसरी जाने कर्मचारी प्रदेश भित्रै वा बाहिर मेचीदेखि महाकालीसम्मको कुनैपनि ठाउँमा जान पाउने स्पष्ट पार्दै उनले ति कर्मचारीलाई प्रति व्यक्ति अधिकतम २५ हजारसम्म खर्च दिइने बताए । उनले गण्डकी प्रदेश बाहिरका कुनैपनि संघसंस्थाले गण्डकी प्रदेशमा आएर महोत्सव, बैठक, गोष्ठी, सेमिनार वा अन्य गतिविधी गर्न चाहेको खण्डमा उनीहरुलाईपनि प्रदेश सरकारले सहयोग रकम उपलब्ध गराउने बताए ।

मन्त्री लम्सालले पोखरा जुलोजिकल पार्क निर्माणका जिम्मा क्लवलाई नै दिने पक्षमा मन्त्रालय रहेको बताए । प्रदेश सरकार मातहत रहने र ऐन, कानुनले बाँध्ने भएकाले क्लवले एकल निर्णय गरेर जाने अवस्था नरहेकाले डराउनुपर्ने स्थिति नरहेको उनको जिकिर थियो । क्लवले जुलोकिल पार्कलाई कम्पनीको रुपमा लैजान खोज्दा समुदायमा संसय पैदा भएपनि विगत एक दशकदेखि आफ्नो पुँजीसहित निर्माणको नेतृत्व गरिरहेकाले तत्कालै छाड् भन्न मिल्ने अवस्था नरहेको बताए ।

बैठकमा समितिका सदस्यहरु ईन्द्रलाल सापकोटा, हरिशरण आचार्य, मिनप्रसाद गुरुङ, सरिता गुरुङ, भागवतप्रकाश मल्ल, डोबाटे विश्वकर्मा र चन्द्रमोहन गौचनले आन्तरिक भ्रमण वर्ष प्रभावकारी रुपमा अघि नबढी मन्त्रालयमा सिमित भएको, होम–स्टेको नाममा खर्च भएपनि गुणस्तरिय रुपमा सञ्चालनमा नआएको, प्रदेशका पर्यटकीय गन्तव्यको पहिचान भएपनि पूर्वाधारण निर्माण नभएको बताएका थिए । उनीहरुले पोखरा जुलोजिकल पार्क युनाइटेड क्लवलाई नदिई सरकारले नै सञ्चालन गर्नुपर्नेमापनि जोड दिएका थिए ।

You might also like

Comments are closed.