कर्जा तथा निक्षेपमा नवीनतम योजना ल्याउँदैछौं, डिजिटल बैकिङ प्राथमिकतामा रहन्छ : सिइओ गुरुङ

रविचन्द्र गुरुङ, प्रमुख कार्यकारी अधिकृत (सिइओ), पोखरा फाइनान्स लि.

पोखरामा प्रधान कार्यालय रहेको राष्ट्रियस्तरको पोेखरा फाइनान्स लिमिटेडले २०५३ सालदेखि निरन्तर वित्तीय सेवा प्रदान गरिरहेको छ । व्यापारको आकार, मुनाफा स्थिति र आन्तरिक नियन्त्रण प्रणालीका दृष्टिले पोखरा फाइनान्स सबल देखिन्छ । फाइनान्सको हालकोे निक्षेप संकलन ७ अर्ब ९० करोड रुपैयाँ र कर्जा लगानी ६ अर्ब २० करोड रुपैयाँ छ । यसैक्रममा वित्तीय क्षेत्रमा कोभिडको असर, फाइनान्सको वित्तीय अवस्था, आगामी योजना, मौद्रिक नीतिले पारेको प्रभाव लगायत समसामयिक विषयमा केन्द्रित रहेर प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङसँग आर्थिक आवाजले कुराकानीको सारः

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले वित्तीय क्षेत्रमा कस्तो असर पारेको छ ?

गत डिसेम्बरको अन्तिम साताबाट सुरु भएको कोरोना रोेगको महामारी फैलिएको ९ महिना भइसकेको छ । नेपालमा समेत संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । नेपालमा सरकारले गरेको लकडाउन तथा विभिन्न स्थानीय तहहरुको निर्देशन अनुसार जारी निशेधाज्ञाले समेत बैंक वित्तीय संस्था तथा अन्य सेवा बिगत छ महिनादेखि ठप्प छन् र प्रभावित भएका छन् । समग्र वित्तीय क्षेत्रमा हेर्ने हो भने पछिल्लो समयमा बैंक, वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिएको छ । बजारमा कर्जाको माग नगन्य छ । बैंक वित्तीय संस्थालाई खर्च नियन्त्रण चुनौतीपूर्ण छ । कर्जा असुलीमा समस्या र क्रमशः निष्कृय कर्जाको अंश वृद्धि भइरहेको छ । यसर्थ कोभिड–१९ ले समग्र वित्तीय क्षेत्रमा नकारात्मक असर श्रृजना गरेको छ ।

jutta mela

आगामी आर्थिक वर्षमा कोभिड १९ ले पार्ने प्रभावलाई कसरी आँकलन गर्र्न सकिन्छ ?

कोभिड १९ को संक्रमण पछिल्लो समय अधिक रुपमा वृद्धि भइरहेको र यसको औषधी पत्ता नलागेसम्म विश्व पुरानो दैनिकीमा फर्कने सम्भावना अत्यन्तै न्युन छ । यस आर्थिक वर्षको प्रथम त्रयमासको मध्य भइसकेको छ तर यस अवधिको अधिक समय निशेधाज्ञा र लकडाउन मै बितेको छ । अघिल्लो वर्षको अन्तिम त्रयमासमा मात्र कोभिड संक्रमण देखिएकाले वित्तीय क्षेत्रमा असर कम देखिएको भएतापनि यस आर्थिक वर्षमा भने कोभिड १९ ले पार्ने असर निश्चितै छ । बैंक, वित्तीय संस्थाको निष्कृय कर्जामा अधिक वृद्धि हुने, हालको अवस्थामा बढ्दो तरलताले बैंक वित्तीय संस्थालाई खर्च नियन्त्रण चुनौतीपूर्ण रहने देखिन्छ । साथै आगामी वर्षसमेत जीवन सामान्य अवस्थामा नफर्केको खण्डमा कर्जाको माग न्युन हुने र कर्जाको न्युन माग तथा राजश्वको संकलनमा आउने गिरावटले राज्यको विकास खर्चमा समेत आशातित प्रगति नहुने देखिन्छ ।

पोखरा फाइनान्स लिमिटेडको वित्तीय अवस्था कस्तो छ ?

पोखरा फाइनान्स लिमिटेड गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लामा स्थापना भएर नेपालभर शाखा सञ्जाल भएको राष्ट्रिय स्तरकोे फाइनान्स कम्पनी हो । २०५३ सालदेखि ग्राहकहरुलाई सर्वसुलभ र उत्कृष्ट बैकिङ सेवा उपलब्ध गराउँदै आइरहेका छौं । हाल वित्तीय संस्थाको शाखा सञ्जाल र एक्स्टेन्सन काउण्टर गरी २३ पुगेको छ भने एउटा शाखा सञ्चालनको अन्तिम अवस्थामा छ । पोखरा फाइनान्सको बढी कारोबार तथा व्यवस्था गण्डकी प्रदेशमा भएतापनि बाग्मती प्रदेश र प्रदेश पाँचमा समेत उल्लेख्य सहभागीता छ । पोखरा फाइनान्स लिमिटेडको हालको चुक्ता पुँजी ९१ करोड ७२ लाख रपैयााँ छ । हालसम्म मर्जर प्रक्रियामा सामेल नभई आफ्नै स्रोतबाट नेपाल राष्ट्र बैंकले तोकेको न्युनतम पुँजी कायम गर्न सफल भएको छ । हाल हाम्रो निक्षेप ७ अर्ब ९० करोड रुपैयाँ र कर्जा लगानी ६ अर्ब २० करोड रुपैयाँ छ । व्यापारको आकार, मुनाफा स्थिति र आन्तरिक नियन्त्रण प्रणालीको हिसाबले समेत पोखरा फाइनान्स लिमिटेड सबल छ ।

पोखरा फाइनान्सको गत वर्षको अवस्था र कोभिड –१९ ले पारेको प्रभाव कस्तो छ ?
बिगत चैत्र महिनादेखि व्यापार व्यवसाय ठप्प छ । नियमित रुपमा शाखा कार्यालयहरु सञ्चालन गर्न सकिने अवस्था छैन । निक्षेप संकलनमा वृद्धि भएको छ र कर्जा निक्षेप अनुपात ६८ प्रतिशतको हाराहारीमा छ । यसले गर्दा व्याज खर्चमा अस्वभाविक वृद्धि भएको छ । कर्जा असुलीमा समस्या छ । व्यपार व्यवसाय सञ्चालनको वातावरण नभएकाले ग्राहकले समयमा नै साँवा तथा व्याज भुक्तानीमा समस्या भएको छ । निष्कृय कर्जामा थोरै वृद्धि भएता पनि वित्तीय संस्थाले यस वर्ष कर्जाको सम्भावित नोक्सानी व्यवस्थामा ठुलो रकम छुट्याउनु परेकाले समेत मुनाफामा ३१ प्रतिशतले संकुचन आएको छ । वितरणयोग्य मुनाफामा समेत झण्डै ७० प्रतिशतले कमी आएको छ । यसर्थ पोखरा फाइनान्समा समेत कोभिड १९ को असर एकदमै धेरै परेको छ ।

मौद्रिक नीतिले बैकिङ क्षेत्रमा पर्ने प्रभावलाई कसरी मुल्यांकन गर्नुहुन्छ ?

नेपाल राष्ट्र बैंकले गत साउन २ गते यस आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिमा ग्राहकको अधिकांश माग सम्बोधन हुने खालका योजनाहरु समावेश भएका छन् । कर्जा भुक्तानीलाई सहज बनाइएको छ । उत्पादनशील क्षेत्र तथा साना तथा मझौला व्यवसायमा बैंक वित्तीय संस्थाले गर्नुपर्ने लगानीका सीमामा वृद्धि गरिएको छ । यसले समग्र देशमा नै रोजगारी श्रृजनामा लहर ल्याउने निश्चित छ । पुनर्कर्जाको आकारमा भएको वृद्धि तथा कोभिड १९ को असरले व्यवसायीलाई परेको समस्या सम्बोधन गर्न ५० अर्बको पुनर्उद्धार कोषले समग्र कर्जा ग्र्राहकको समस्या सम्बोधन गर्ने प्रयास भएको छ । डिजिटल बैकिङलाई प्राथमिकता लिन विभिन्न योजना सार्वजनिक भएका छन् । यसले समग्र वित्तीय क्षेत्रलाई उकास्न दुर्गामी प्रभाव पार्ने खालका नीति छन् । यद्यपि, कर्जा स्वाप शुल्कमा लगाइएको लगाम, विभिन्न सञ्चालन आम्दानीमा लगाइएको लगामले भने बैंक वित्तीय संस्थाको आम्दानीमा गिरावट आउने देखिन्छ । समग्रमा हेर्दा ग्राहकलाई दीर्घकालीन फाइदा हुने मौद्रिक नीति आएको छ ।

आगामी वर्षको लागि फाइनान्सले लिने लिने योजनाहरु केकस्ता छन् ?

हालको विषम अवस्थाबाट ग्राहक र वित्तीय संस्था आफैलाई उकास्नु नै पहिलो प्राथमिकता हो । राष्ट्र बैंकले मौद्रिक नीतिमा कर्जा नोक्सानी व्यवस्थामा केही छुट दिएकाले हाल निष्कृय कर्जा अनुपातमा केही कमी देखिएता पनि कर्जा असुलीमा आगामी दिनमा चुनौतीपूर्ण हुने देखिन्छ । यसर्थ आगामी वर्षमा पहिलो प्राथमिकता कर्जा असुली र दोस्रो प्राथमिकता व्यवसाय विस्तार मै रहने छ । कर्जा लगानीमा हामीले प्राथमिकता प्राप्त क्षेत्रलाई नै पहिला प्राथमिकतामा राखेका छौं । साथै कर्पाेरेट फाइलमा कर्जा लगानी भन्दा साना तथा मझौला उद्योगलाई प्राथमिकतामा राखेका छौं । यसर्थ समयको माग अनुसार कर्जा तथा निक्षेपका नवीनतम योजना साथै डिजिटल बैकिङ प्रोडक्टहरुको अभिवृद्धि नै आगामी वर्षका वित्तीय संस्थाका योजनामा छन् ।

फाइनान्सको प्रधान कार्यालय पोखरा हुनुको फाइदा र बेफाइदालाई कसरी विश्लेषण गर्नुहुन्छ ?

वित्तीय संस्थाले पोखरामा प्रधान कार्यालय रहेर पनि कुशलतापूर्वक कार्य सञ्चालन गरिरहेको छ । हाल विश्वव्यापीकरणको समयमा अधिकतम सूचना प्रविधिको प्रयोगले काममा सहजीकरण गर्ने भएकाले प्रधान कार्यालय उपत्यकामा हुनु या उपत्यका वाहिर हुनु एउटै हो । पोखरामा प्रधान कार्यालय रहेको संख्या २ वटा मात्र भएकाले बजारमा प्रतिस्पर्धा गर्न सहज भएको छ । ग्राहकका आवश्यकता छिटो पूर्ति गर्न सक्ने भएका छौं । अधिकांश नियामक निकायहरु, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, कर कार्यालय लगायतका विभिन्न नियामक निकायहरु काठमाडौं केन्द्रित हुँदा साना मसिना समस्या आइपरेता पनि सूचना प्रविधिको अधिकतम प्रयोगले दैनिक कार्य सञ्चालन कुशलता पुर्वक सञ्चालन गर्न सकेका छौं ।

पोखरा फाइनान्स मर्जरमा जान्छ कि जाँदैन ?

मर्जरको लागि सधै खुल्ला छौं । साधारण सभाबाट मर्जरको एजेण्डा पास भएको छ । सञ्चालक समितिमा मर्जरको अख्तियारी छ । उपयुक्त संस्था, राम्रो स्वाप र न्यायोचित कर्मचारी व्यवस्थापन पाएमा मर्जरमा जाने नै छौं । तर हालको अवस्थाबाट आत्तिएर मर्जमा गई हाल्ने मनस्थितिमा छैनौं । यद्यपि, मर्जरको ढोका सधैं खुल्ला छ र उपयुक्त संस्था पाएमा मर्जरमा जाने नै योजना छ ।

You might also like

Comments are closed.