बेलूनमा उडेर दृश्यावलोकनको मज्जा

जमिनबाट ४ हजार फिट माथिसम्म उडान

सुरेन्द्र पौडेल
पोखरा । पछिल्लो समय पोखरा आउने पर्यटकको रोजाई सहासिक गतिविधितर्फ बढेको छ । पर्यटनका धेरै सहासिक गन्तव्य मध्ये हट एयर बेलूनमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण देखिएको छ । बेलुन नेपाल प्रालिले पोखरामा २०१८ नोभेम्बर १६ देखि बेलूनबाट व्यावसायिक उडान सुरु गरेको हो । पोखराको पामेबाट दैनिक उडान भइरहेको छ । भक्तपुरका बिक्रम बाडे र हिमालयन ग्लोबल इन्भेष्टमेन्टको तर्फबाट दीपक कुमार श्रेष्ठ तथा सबिन महर्जनको संयुक्त लगानीमा यो सेवा सञ्चालनमा आएको हो । ४ करोड ५० लाख रुपैयाँ लगानीमा यो सेवा सञ्चालन भएको लगानीकर्ताहरु बताउँछन् ।

सहासिक पर्यटकीय गतिविधि मन पराउने पर्यटकले बेलूनबाट उडान गरी दृश्यावलोकनको मज्जा लिने गरेको प्रालिका अध्यक्ष बिक्रम बाडेले जानकारी दिए । ‘एक पटकमा पाइलटसहित बेलूनमा ९ जना चढ्न मिल्छ,’ उनले भने, ‘३२ वर्गमिटरको बास्केटमा यात्रु बसेर यात्रा गर्न सकिन्छ ।’ बेलुनको उचाई २१ मिटरको छ ।

जमिनबाट ४ हजार फिट माथिसम्म उडान गर्न सकिने बाडेले जानकारी दिए । ‘बेलुनमा उडेर पोखरा उपत्यका, अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमसृङखलाको अवलोकन गर्न सकिन्छ,’ उनले भने । असार, साउन र भदौमा बाहेक मौषम अनुकूल भएको समयमा नियमित उडान हुन्छ । सूर्योदय हेर्न मन पराउनेले बिहानको उडान र सूर्यास्त मन पराउनले साँझको उडान बुक गर्न सक्नेछन् ।

उडान गर्ने यात्रुको प्रतिव्यक्ति २० हजार डलरको बिमा सुविधा उपलब्ध छ । नेपाली र भारतीय पर्यटकलाई ३० मिनेटको ९ हजार रुपैयाँ शुल्क र अन्य देशका पर्यटकलाई १ सय २० डलर शुल्क लाग्छ । एक घण्टाको उडान गर्दा नेपाल र भारतीयलाई ११ हजार रुपैयाँ र अन्य देशका पर्यटकलाई १ सय ५० डलर शुल्क लाग्छ । फोटो भिडियोको १ हजार ५ सय रुपैयाँ थप शुल्क तिर्नुपर्छ । रिजर्भ गरेर उड्नका लागि ३० मिनेटको ५५ हजार रुपैयाँ र एक घन्टाको ८० हजार रुपैयाँ शुल्क लाग्छ । कम्पनीकै कार्यालयमा गएर बुक गर्ने तथा ग्रुप बुक गर्नेलाई विशेष छुट रहेको उनले बताए । ‘उडान गर्ने यात्रुलाई लेकसाइडदेखि पामेसम्म ल्याउने तथा लैजाने सुविधासहित ब्रेकफास्ट प्रालिले नै उपलब्ध गराउँछ,’ उनले भने ।

बेलुनमा उड्ने यात्रुले न्यानो कपडा लगाउँँदा राम्रो हुने बाडेले बताए । बेलूनमा उडेर दृश्यावलोकन गर्दा पर्यटकहरु उत्साही हुने गरेको बेलायती पाइलट अलेकजेण्डर ब्रेनकोर्टले बताए । नेपाली पाइलट नहुँदा विदेशी पाइलटबाट बेलूनको व्यावसायिक उडान भइरहेको छ । बेलूनबाट उड्नेहरुमा बढी विदेश पर्यटक रहेपनि पछिल्लो समय आन्तरिक पर्यटकको संख्या पनि बढिरहेको सञ्चालक दीपककुमार श्रेष्ठले जानकारी दिए ।

फोटो : सुदर्शन रञ्जित File Photo

यस अगाडि सन् १९९१ मा सनराइज बेलूनले तत्कालीन हवाइ विभागबाट अनुमति लिएर काठमाडौं उपत्यकामा व्यावसायिक उडान गरेको थियो । उक्त उडान सशस्त्र द्वन्द्वको बेलामा बन्द भएपछि चलेको छैन । पोखरामा सञ्चालन भएको बेलून उडानले यहाँकोे सहासिक पर्यटकीय गतिविधिलाई प्रवद्र्धन गर्न सफल भएको श्रेष्ठले बताए ।

पोखरामा हावामा कावा खाँदै चराझैं उड्न सकिने हट एयर बेलुनको सेवा शुरु

You might also like

Comments are closed.