मेयर न्यौपाने र वेलायतको व्रिस्टोल शहरका मेयरबीच भेटघाट

तनहुँ, २८ चैत
वेलायत भ्रमणमा रहेका तनहुँको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले वेलायत स्थित व्रिस्टोल शहरका मेयरसँग भेटघाट गरेका छन् ।  व्रिस्टोल शहरका मेयर मार्भिन रिज र न्यौपाने बीच विहीवार व्रिस्टोल नगर परिषदमा औपचारिक भेटघाट भएको हो ।

भेटघाटका क्रममा दिगो विकासका लक्षहरुको चुनौति, वातावरणमैत्री शहरी विकासका पुर्वाधार निर्माण एवं ग्लोबल पार्लियामेंन्ट अफ मेयर्सको संस्थागत कार्यसम्पादनको विषयमा छलफल भएको नगरपालिकाले जनाएको छ ।  व्रिष्टोल शहरका मेयर मार्भिन रिजको औपचारिक निमन्त्रणमा नगरप्रमुख न्यौपाने साताव्यापि भ्रमणका लागि वेलायत गएका हुन् । भेटका क्रममा नगरप्रमुख न्यौपानेले व्यास नगरपालिका भित्रको शिक्षा, स्वास्थ्य, सडक, वातावरण लगायतका क्षेत्रमा भईरहेका कामका बारेमा जानकारी गराएका थिए ।

त्यसक्रममा व्रिस्टोल शहरका मेयर रिजले आफु नेपाल भ्रमण गर्न उत्सुक रहेको स्पष्ट पार्दै, नेपाल भ्रमणका क्रममा व्यास नगरपालिकाको भ्रमण गर्ने जानकारी दिएको नगरप्रमुख न्यौपानेले बताएका छन् ।  वेलायत भ्रमणका क्रममा प्रमुख न्यौपानेले बेलायत स्थित नेपाली दूतावासको भ्रमण गर्नूका साथै नयाँ वर्ष २०७६ को उपलक्षमा आयोजना गरिने शुभकामना आदानप्रदान कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम रहेको पनि व्यास नगरपालिकाले जनाएको छ ।

गत कार्तिकमा ग्लोबल पार्लियामेंन्ट अफ मेयर्सको कार्यकारी सदस्यमा निवार्चित भएपछि कार्यकारी सदस्यको हैसियतमा प्रमुख न्यौपानेले पहिलो पटक वेलायतको भ्रमण गरेका हुन् । व्रिस्टोल शहरका मेयर मार्भिन रिज उक्त संस्थाको उपाध्यक्ष हुन् ।

You might also like

Comments are closed.