स्वरोजगार बनाएर विदेश पलायन रोक्छौंः थापा

पोखरा । गण्डकी प्रदेशका भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले युवाहरुलाई स्वरोजगार बनाएर विदेश पलायन हुनबाट रोक्ने बताएका छन् । समता फाउण्डेसनले मंगलबार पोखरामा आयोजना गरेको ‘वैदेशिक रोजगारीको समस्या र प्रदेश सरकारको भूमिका’ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले युवाहरुलाई प्राविधिक शिक्षा दिएर रोजगारी र स्वरोजगारी बनाउँदै विदेश पलायन हुनबाट रोक्ने बताएका हुन् ।

विदेश पलायन रोक्न प्रदेश सरकारले प्राविधिक शिक्षा दिने तयारी गरेकोसमेत उनले बताए । प्रदेश सरकारले गण्डकी विश्वविद्यालय खोलेर त्यहाँ सीप र ज्ञान दिएर दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको जानकारी दिए । अहिलेको शिक्षा गफ गर्ने अखडा मात्रै भयो,‘उनले भने,‘तर प्राविधिक शिक्षा गफ गर्ने अखडा होइन, काम सिक्ने र रोजगार र स्वरोजगार उत्पादन गर्ने थलो बन्छ ।’

गरिबी र बेरोजगारी चुनौतिको रुपमा रहेको बताउँदै उनले भने,‘यसको मूल जड भनेको अशिक्षा हो, असमानता हो, उत्पीडन हो ।’ उत्पीडन जातीय, क्षेत्रीय, लिंगीय, वर्गीयलगायतका क्षेत्रमा रहेको भन्दै यसको अन्त्य गर्नुपर्नेमा जोड दिए । त्यसैले असमानता र उत्पीडनसँगै अशिक्षापनि हटाएर प्राविधिक शिक्षामार्फत स्वदेशमै काम गर्नसक्ने बनाउन प्रदेश सरकार लागिपरेको बताए ।

jutta mela

मन्त्री थापाले भूमि करार ऐन ल्याएर बाँझो भूमिको सदूपयोग गर्ने रणनीतिमा सरकार लागेको बताए । उनले बैदेशिक पलायन र बेरोजगारी समस्याका लागि सरकार र नीजि क्षेत्रबीच साझेदारीपनि आवश्यक रहेको औंल्याए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बैदेशिक रोजगारी संस्कृति, रहर र बाध्यताको उपज भएको बताउँदै यहि कारण समाज देख्दा ठिकठाक भएपनि भित्रभित्रै दनदनी आगो बलिरहेको बताए । उनले युवालाई जबसम्म विदेश पलायन हुनबाट रोक्न सकिदैन तबसम्म समृद्धी हाँसिल हुन नसक्ने बताए । बैदेशिक रोजगारी दीर्घकालिन समाधान नभई क्षेणिक सन्तुष्टी मात्रै भएको बताए ।

पोखरा महानगरपालिकाकी वडा सदस्य प्रेमदेवी परियारले सचेतनासहित सीप र ज्ञान दिएर विदेश पलायन रोक्नुपर्ने बताइन् ।

दलित अभियन्ता भीम विकले दलितका लागि वैदेशिक रोजगारी रहर नभई बाध्यता भएको बताउँदै स्वदेशमै स्वरोजगार र रोजगार गर्नसक्ने वातावरण मिलाउन सकेमात्रै यो अन्त्य हुने बताए।

अर्का दलित अभियन्ता दीपक बराइलीले वैदेशिक रोजगारीले दक्ष युवा जनशक्ति पलायन गराइरहेको भन्दै यो समृद्धीको बाधक हुनसक्ने चेतावनी दिए ।

सामी परियोजनाकी कास्की प्रमुख माया गुरुङ (मनाङे)ले विदेश पलायन रोक्न छलफल, अन्र्तक्रिया हुने तर प्रतिवेदन कार्यान्वयन नहुँदा त्यसको औचित्य माथि प्रश्न उठेको बताइन् । सामीले झैं सचेतनाका कार्यक्रम गर्न सके ठगिनबाट भने बचाउन सकिने उनको भनाई थियो ।

रिर्टनिज निरज थापाले विदेशबाट फर्केकाहरुले अहिले नेपालमै स्वरोजगारमा नमूना कार्य गरिरहेको भन्दै उनीहरुलाई सरकारले प्रोत्साहन गर्न सके विदेशमा रहेका अन्यपनि आउने बाटो खुल्ने बताए ।
समता फाउण्डेसनका अध्यक्ष प्रदीप परियारले छलफलबाट आएको निश्कर्ष सरकारलाई बुझाएर कार्यान्वयनका लागि दवाब दिइने बताए ।

You might also like

Comments are closed.