उद्घोषण कला सम्बन्धि एकहप्ते तालिम सम्पन्न

पोखरा १७ चैत ।

पोखराको वडा नं १३ पाटनबेसीमा रहेको ताराकुज सेकेण्डरी स्कूलमा आयोजित उद्घोषण, भाषण, नेतृत्व सीप तथा रेडियो प्रस्तोता सम्बन्धि तालिम आईतबार सम्पन्न भएको छ ।
विद्यालयमा अध्ययनरत कक्षा ८ का विद्यार्थीहरुको नेतृत्व क्षमता विकास एवं आत्मविश्वास विकास गर्ने उद्देश्यले आयोजित उक्त तालिम समापनमा बोल्दै एभिन्यूज टेलीभिजनका पोखरा व्यूरो प्रमुख कमल पराजुलीले कितावी ज्ञान मात्र नभई अतिरिक्त कृयाकलापमा विद्यार्थीहरुलाई सहभागी गराउनु सरहानीय कार्य भएको बताए ।

बोलीमा विश्वसनीयता हुनुपर्नेमा जोड दिँदै पराजुलीले बोल्ने कलाको विकासका लागि विद्यार्थीहरुलाई सदैव अभ्यासरत रहन अनुरोध गरे ।  सो अवसरमा बोल्दै विद्यालयका डिन यूवराज त्रिपाठीले प्रशिक्षकले सिकाएको सीपलाई विद्यार्थीले सही सदुपयोग गर्दै विद्यालयमा विद्यार्थीहरुबीच गठन हुने विभिन्न समूहको नेतृत्व गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । विद्यालयले वर्षेनी आयोजना गर्ने यस किसिमको कार्यक्रम निकै प्रभावकारी रहँदै आएको अनुभव पनि उनले सुनाए ।

त्यस्तै विद्यालयका प्रशासनिक निर्देशक विष्णु तिमिल्सिनाले पूmर्सदको समयमा समयको सदुपयोग संगै उद्घोषण तालिमले सदैव विद्यार्थीलाई आत्मविश्वासी रहन सहयोग पुग्ने धारणा राखे ।
तालीमका सहजकर्ता एवं थ्रि एञ्जल्स सामुदायिक रेडियोका समाचार प्रमुख जीवन सुवेदीले विद्यार्थीहरुमा रहेको चासो र उत्साहका कारण छोटो अवधीमै विद्यार्थीहरुले धेरै कुरा सिक्न सफल भएको दावी गरे । साथै उनले तालिममा सिकेका ज्ञान र सीप प्रयोग गरी व्यवहार परिवर्तन गर्न सकेमा तालिम फलदायी रहने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट अनुभव सुनाउँदै सन्देश सापकोटा र सुदीप सुवेदीले तालिमले अगाडि उभिएर बोल्ने डर हटेको र बोल्ने कलामा धेरै कुराको ज्ञान प्राप्त गरेको भन्दै तालिम प्रभावकारी भएको भन्दै खुसी व्यक्त गरे ।  कार्यक्रममा सह–प्राचार्य गोविन्द गौतम, प्लस टू संयोजक शिशिर ढुङ्गाना, प्रा.वि संयोजक रेखा गुरूङको पनि उपस्थिति थियो ।

विद्यालयका निर्देशक गणेश तिमिल्सिनाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा छात्रा रजनी बरालले स्वागत गरेकी थिईन् भने प्रशिक्षार्थी मध्यकै बृक्षा बास्तोला र प्रशान्त बरालले कार्यक्रम सञ्चालन गरेका थिए ।

You might also like

Comments are closed.