आज ८ सय १५ मा कोरोना संक्रमित थपिए, पाँच जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा आठ सय १५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ भने संक्रमणका कारण पाँच जनाको मृत्यु भएको छ ।

सो अवधिमा चार हजार पाँच सय ३४ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार चार सय ११ जनाको पिसीआर र दुई हजार एक सय २३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सो अवधिमा चार सय ७६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ७४ हजार दुई सय ९५ पुगेको छ । संक्रणमुक्त हुने दर ९८ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार आठ सय ६९ छ । नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ८२ पुगेको छ । होमआइसोलेशनमा पाँच हजार छ सय ७७, संस्थागत आइसोलेशन एक सय ९२, आइसीयूमा ६० र भेन्टिलेटरमा आठ जना संक्रमित रहेका छन् ।

हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौं र ललितपुर रहेका छन् भने दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा कैलाली र मोरङ छन् ।

शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, कालिकोट र हुम्ला छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौं दुई हजार नौ सय २२, ललितपुर आठ सय ६८ र भक्तपुरमा ८९ सक्रिय सङ्क्रमित रहेका छन् । कुल संक्रमणदर १७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.