पोखरा । पछिल्लो समय मुलुकका मुख्य सहरहरूमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोग तीव्र गतिमा फैलिरहेका बेला पोखरा महानगरपालिकामा पनि यस विरुद्धको सचेतना अभियान शुभारम्भ गरिएको छ । महानगरको स्वास्थ्य महाशाखाको नेतृत्वमा डेंगु रोग रोकथामका लागि लामखुट्टेको वासस्थान खोजी तथा नष्ट गर्ने अभियान सुरु गरिएको हो ।
सो अभियानको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यसको रोकथामका लागि नागरिक सचेतना आवश्यक रहेको बताए । “यसको थप उपचार भन्दा पनि यसलाई फैलन नदिनका लागि प्रमुख उपाय भनेको जनजागरण नै हो, उनले भने, ‘लामखुट्टेको टोकाइबाट सर्ने भएकाले त्यसको वासस्थान खोज्ने र नष्ट गर्ने नै हो ।” लामखुट्टेको सम्भावित वासस्थानको पहिचान गरी नष्ट गर्ने अभियानमा साथ दिन उहाँले आम सरोकारवालाहरूलाई आह्वान समेत गरे ।
ग्यारेज तथा कवाडी सङ्कलन केन्द्रहरूमा रहेका पुराना टायर लामखुट्टेको सुरक्षित वासस्थानका रूपमा पाइएकाले त्यस प्रकृतिका व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूलाई थप सचेतना अपनाउन उनले आग्रह गरे । कवाडी सङ्कलन केन्द्रहरूलाई डेंगु लगायतका सरुवा रोगहरूको कारकका रूपमा विभिन्न अध्ययनहरूले देखाएको उल्लेख गर्दै उनले ती व्यवसायलाई आवास क्षेत्रको ५०० मिटर टाढा स्थानान्तरण गर्नका लागि ३५ दिने सूचना समेत जारी गरिएको जानकारी दिए ।
स्वास्थ्य महाशाखाका प्रमुख कृष्ण प्रसाद अर्यालले यसको प्रकोप रोक्नका लागि सरोकारवालाहरूको एकीकृत प्रयासमा जोड दिए । उनले भने, “डेंगु रोग पोखरा महानगरपालिकामा मात्र नभई राष्ट्रिय समस्याका रूपमा देखिएकाले यसको नियन्त्रणका लागि एकीकृत प्रयास आवश्यक छ ।” उनका अनुसार पोखरामा हालसम्म १०० भन्दाबढी डेंगुका केशहरू फेला परेका छन् ।
डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो । डेंगुको भाइरसद्वारा सङ्क्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी पाइने गर्दछ ।
Comments are closed.