काठमाडैं । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ) का अध्यक्ष नवराज कुँवर एशियन-ओसियन कम्प्युटिङ ईण्डष्ट्रि अर्गनाईजेशन (Asian-Oceanian Computing Industry Organization – ASOCIO) असोसियोको सन् २०२३ -२४ कार्यकालको लागि उपाध्यक्षमा निर्वाचित भएका छन् ।
सिंगापुरमा गत हप्ता सम्पन्न असोसियोको वार्षिक साधारणसभामा भएको निर्वाचनबाट क्यान महासंघको प्रतिनिधित्व गर्दै कुँवर सो पदमा निर्वाचित भएका हुन् । यसअघि कुँवर सन् २०२२ को जनवरीदेखि क्यान महासंघबाट प्रतिनिधित्व गर्दै असोसियोको सह-उपाध्यक्षको जिम्मेवारीमा थिए । कुँवर सन् २०१९ मा क्यान महासंघको अध्यक्षमा निर्वाचित भएका हुन् ।
इन्फर्मेशन सर्भिस ईण्डष्ट्रि एशोसियसन ताईवानका अध्यक्ष ब्रायन शेनको अध्यक्षतामा निर्वाचित ९ सदस्यीय समितिमा नेपाललगायत जापान, थाइल्याण्ड, दक्षिण कोरिया, हंगकंग, भियतनाम, मलेशिया र सिंगापुरका सूचना तथा संचार प्रविधि सम्बन्धी काम गर्ने संगठित छाता संगठनका प्रतिनिधिहरु निर्वाचित भएका छन् ।
एशिया प्रशान्त क्षेत्रका विभिन्न २४ देशमा रहेका सूचना तथा संचार प्रविधि सम्बन्धी काम गर्ने संगठित छाता संगठनहरु सदस्य रहेको असोसियो सन् १९८४ मा जापानको राजधानी टोकियोमा स्थापना भएको हो ।
कुँवर उपाध्यक्षमा निर्वाचित भएकोमा क्यान महासंघले उनको सफल कार्यकालको कामना गरेको छ । साथै, असोसियोमा उनको प्रतिनिधित्वले बदलिदो प्रविधि र डिजिटल अर्थतन्त्रमा सबैको पहुंच एवं सूचना तथा संचार प्रविधिमार्फत समृद्ध नेपाल बनाउने क्यान महासंघको प्रयासमा मदत पुग्ने विश्वास गरिएको क्यानका महासचिव नारायण थापाले बताए ।




Comments are closed.