काठमाडौं । विद्युतीय सामग्रीहरुको बृहत् प्रदर्शनी फीन इलेक्ट्रो टेक–२०२२ सम्पन्न भएको छ । नेपाल विद्युत व्यवसायी महासंघले मंसिर २२ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको मेला २५ गते आइतबार सम्पन्न भएको हो ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अवलोकन गरेसँगै समापन भएको थियो । मेलाको अन्तिम तथा चौंथो दिन आइतबार १६ हजार भन्दा बढीले मेलाको अवलोकन गरेका छन् । यो सँगैमेला अवलोकन गर्नेको संख्या करिव ७० हजार पुगेको छ । प्रदर्शनीका क्रममा विभिन्न ख्याती प्राप्त कलाकारहरुले पनि मेला आयोजक, विद्युतीय सामग्रीका उत्पादक र सर्वसाधारणमा उत्साह बढाएका थिए । शिवहरि पौडेल, दीपाश्री निरौला, सुरजसिंह ठकुरी लगायत कलाकारहरुले मेला अवलोकन गर्नुका साथै विभिन्न ब्राण्डका उत्पादनहरुको प्रवर्द्धनमा सघाएका थिए ।
मेलामा लक्ष्यभन्दा बढी अवलोकनकर्ताको सहभागिता रह्यो । फीन इलेक्ट्रो टेक–२०२२ मा करिव ६० हजार जनाले अवलोकन गर्ने लक्ष्य लिइएको थियो । विभिन्न राजनीतिक दलका नेताहरुले पनि मेलाको अवलोकन गरेका थिए । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेकपा एमालेका सचिव योगेश भट्टराई लगायत नेताहरुले मेलाको अवलोकन गरेका थिए । प्रदर्शनीका क्रममा विभिन्न कम्पनी र ब्रान्डका उत्कृष्ट स्टलहरुलाई पुरस्कृतसमेत गरिएको थियो । एप्पल ग्रुपको विनय स्वीचले प्रथम स्थान हासिल गरेको थियो भने एनजी इलेक्ट्रिकल्सको इलेक्ट्रा इलेक्ट्रिक दोस्रो र प्रिमियर ओभरसिजको ओरिएन्ट र मित्तल ओभरसिजको ग्रेट व्हाइट तेस्रो भएका थिए ।

मेलाका क्रममा फीनका पूर्व अध्यक्ष एवं इलेक्ट्रो टेक-२०१२ का संयोजक रामबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो । यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीलाई पनि सम्मान गरिएको थियो । मेलाको उद्घाटन बिहीबार अर्थमन्त्री जनार्दन शर्माले गरेका थिए । विद्युतीय सामग्रीका उत्पादक र उपभोक्ताका लागि आयोजना गरिएको मेलाले दुबै पक्षका लागि राम्रो अवसर दिएको बताइएको छ । विगत २६ वर्षदेखि हरेक दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको मेला यसपटक भने कोरोना महामारीको कारण चार वर्षपछि आयोजना गरिएको थियो । ‘नेपालको समृद्धि उर्जा खपत अभिवृद्धि’ भन्ने मुल नारा रहेको चार दिने प्रदर्शनीको प्रदर्शनीमा ७५ वटा स्टल राखिएका थिए । प्रदर्शनीमा विद्युत प्रविधि क्षेत्रका विज्ञ तथा प्राविधिकहरुको उपस्थिति बढी थियो । मेलाको तेस्रो र चौथो दिन देशभरका विद्युतीय सामग्री व्यवसायी, उत्पादनकर्ता, डिस्ट्रीब्युटर, डिलर, सप्लायर्सबीच अन्तक्रिया एवं व्यापारिक सम्झौताहरु पनि भएका थिए ।
तेस्रो दिन सार्वजनिक बिदाको दिन भएकाले आम उपभोक्तासहित विद्यार्थी वर्गको उपस्थिति पनि उल्लेखनीय थियो । मेलाको तेस्रो र चौथो दिन विद्युतीय सुरक्षाको विषयमा विचार गोष्ठी अर्थात् सिम्पोजियम पनि आयोजना गरिएको थियो । चौथो तथा अन्तिम दिन विद्युतीय सुरक्षा सम्बन्धी गोष्ठी आयोजना गरिएको थियो ।

यसमा चट्याङ अर्थात लाईटनिङ एरेष्टर र इलेक्ट्रिसिटी लिकेजबाट हुने क्षति न्यूनीकरणबारे प्राध्यापक डा श्रीराम शर्माले प्रस्तुति दिएका थिए । मेलामा दर्शक तथा व्यवसायीहरुको उत्साहपूर्ण सहभागिताका कारण अन्तराष्ट्रिय कम्पनीका प्रतिनिधिहरु पनि उत्साहित देखिएको र मेला उत्साहपूर्वक सफल भएको नेपाल विद्युतीय व्यवसायी महासंघ (फीन) का अध्यक्ष सुदर्शन प्रसाद पौड्यालले जानकारी दिए ।
आफ्ना नयाँ प्रविधि तथा उत्पादनलाई चिनाउन मेला सार्थक भएको अध्यक्ष पौड्यालको भनाई छ । विश्वभर व्याप्त आर्थिक मन्दीका बावजुद मेला अपेक्षा गरिएभन्दा बढी सफल भएको नेपाल विद्युतीय व्यवसायी महासंघका महासचिव कोमल पोखरेलले बताइन् । मेलामा अवलोकन गर्ने उपभोक्ता, आर्किटेक्ट बिल्डर्स, होटललगायत विद्युतीय उपकरण सम्बन्धी सबैलाई मेलाले सहयोग गरेको महासचिव पोखरेलको विश्वास छ ।

विद्युतीय सामग्रीहरुको बृहत् प्रदर्शनी फीन इलेक्ट्रो टेक–२०२२ मा स्मार्ट होम्स, चट्याङ प्रतिरोधी उपकरण, प्यानासोनिक ब्राण्डको टच द फ्युचर,सेन्सरयुक्त सीसीटीभी क्यामेरा, अत्याधुनिक ग्यास चुलो,कम्पोष्टिङ मेसिन, फायर प्रुफ एल्लो पाइप विशेष रुचीका उत्पादन रहेका थिए । त्यसैगरी ओके जर्नीको वाइफाइ डिभाइस, अत्याधुनिक एलइडी लाइट, र सेनेटरी प्याड भेण्डिङ मेसिन मुख्य आकर्षण रहेको अवलोकनकर्ताको प्रतिक्रिया रहेको छ ।




Comments are closed.