काठमाडौं । पछिल्लो समयमा बजारमा माग बढ्दै गएपछि अण्डाको मूल्य बढ्न थालेको छ । बजारमा माग बढ्दै गएपछि शनिबारबाट चितवनलाई आधार हेर्दा लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको हो ।
नेपाल लेयर्स कुखुरापालक संघको बैठकले बिक्री मूल्य तय गरेको हो । शनिबारबाट चितवनलाई आधार मानेर बजार मूल्य ३० गोटा (एक क्रेट) को रु तीन सय ६० तय गरिएको हो ।
यसअघि अण्डाको मूल्य प्रतिक्रेट रु तीन सयमा बिक्री हुुँदै आएको थियो । संघका अध्यक्ष विनोद पोख्रेलका अनुसार अहिलेको लागत मूल्य प्रतिक्रेट रु चार सय ३५ पर्न आउँछ ।
औषधिलगायत अन्यमा पनि मूल्य दोब्बर भएको उनको भनाइ छ । एक वर्ष छ महिनाअघि अण्डाको मूल्य प्रतिक्रेट रु चार सय पाँच पुगेर एकोहोरो ओरालो लागेको हो । त्यतिबेला खुद्रा मूल्य प्रतिगोटा रु १६ रहेको थियो । नेपालमा अण्डा उत्पादन गर्ने कृषक एवं व्यवसायी सङ्गठित भएर व्यवसाय बचाउन लागिपरेको पोेख्रेल बताउछन् ।
हालै मात्र देशभरका धेरै कुखुरापालक व्यवसायी संघठित भएर अघि बढेका हुन् । पोख्रेलले लागत मूल्यसम्म पाउन सके पनि कृषकहरू बच्न सक्ने बताए । हाल नेपालमा दैनिक ४० लाख अण्डा उत्पादन हुँदै आएको छ ।
अण्डाको महत्व बुझाउन सकेमा अण्डाको माग दोब्बर हुने व्यवसायी बताउँछन् । बिचौलियाको चलखेललाई रोकेर कृषकको हितमा सरकार लाग्नुपर्ने व्यवसायीको भनाइ छ ।
निजी क्षेत्रको अण्डा उत्पादनका लागि मात्र पोल्ट्री व्यवसायमा रु एक खर्बभन्दा बढी लगानी रहेको छ । यसको आधाभन्दा बढी बैंकको ऋण भएको व्यवसायी बताउँछन् । रासस




Comments are closed.