एघारौं पोखरा महोत्सवको तयारी पूरा,उद्घाटन मुख्यमन्त्री अधिकारीले गर्ने

पोखरा । एघारौं पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक युनाईटेड क्लवले आज (सोमबार) पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुस २७ देखि माघ ९ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

एघारौं पोखरा महोत्सवको आम्दानीबाट पोखराको बीच भागबाट बग्ने सेनी नदी खोंचलाई एक साहसिक पर्यटकीय गन्तब्य निर्माण र युनाईटेड क्लवको आफ्नै जग्गा पोखरा २६ अर्चलेमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी निःशुल्क शिक्षा प्रदान गर्नेगरी आवाशीय छात्राबास निर्माणलाई जोड दिइने क्लवका महासचिव तथा एघारौं पोखरा महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

महासचिव सुनारका अनुसार क्लवले लिएको शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धन र सेती नदी संरक्षणलाई निरन्तरता दिइनेछ । महोत्सवमा प्रत्येक टिकटबाट एक रुपैयाँ सेती नदी संरक्षणका लागि छुट्याइने छ । १३ दिनसम्म सञ्चालन हुने महोत्सवमा २ सय ५८ स्टल रहने र दुईदेखि दुई लाख पचास हजार दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको अनुमान छ ।

महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धितिर पुर्‍याउने, विकसित सूचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पुर्‍याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिँदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सबै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पुर्‍याउने, आर्थिक चलायमान गराउन मद्दत गर्ने, रोजगार सिर्जना गराउने, क्षेत्रगत विकासमा टेवा पुर्‍याउने र उद्योगको प्रवर्द्धन गर्ने उद्देश्य लिएको महासचिव दिनेश सुनारले जानकारी दिए ।

महोत्सवमा विभिन्न जाति जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, व्यावसायिक संघ संस्थाहरुको सेवाबारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपभोग्य वस्तुहरुको प्रदर्शनी तथा उचित मूल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरालगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचयन एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुतिसंगै कृषिका गतिविधिहरु सञ्चालन हुनेछन् ।

महोत्सवको आकर्षणका रुपमा लोकदोहोरी तर्फ गायक बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, पशुपति शर्मा, रामजी खांड, प्रिति आले, चोलेन्द्र पौडेल, ज्योती मगर, राजु परियार, चिज गुरुङ, अस्मिता डल्लाकोटी, कृष्ण अखेली, आलिफ खानलगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहनेछ, भने कन्सर्टतर्फ मन्त्र, लाहुरे, सविन राई एण्ड द फेरोह, छेवाङ लामा, भिटेन, मेलिना राई, दिक्षिता कार्की, झिल्के एण्ड द कम्पनी, अनुप्रस्था, अभय एण्ड द स्टीम इन्जीन्स, एएसएम र लोकल ब्याण्डहरुको प्रस्तुती रहने छ ।

त्यसैगरी हांस्य ब्यङ्ग्य प्रस्तुती, नेपाली संस्कृति झल्कने प्रस्तुती, बाल उद्यान, विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता, झांकी प्रदर्शनीलगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन् । त्यसैगरी थप आकर्षणमा घोड सवार, चिडियाखाना अवलोकनको लागि सवारीको ब्यवस्था, भिआर नाइन डी, टिकटक प्रतियोगिता र विभिन्न मनोरन्जनका कार्यक्रमहरु हुनेछन् ।

एघारौं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजकमा रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको बेट्टर होम एपलाएन्सेस, प्रायोजकहरुमा रारा तयारी चाउचाउ, योकोहामा जापानिज ल्याङ्ग्वेज एण्ड ट्रेनिङ कन्सल्टेन्सी, वण्डर स्वीच एण्ड एससोरिज, युएनआइ एक्सपर्ट एलईडी लाइटिङ, युनाईटेड युथ सर्कल युएसए, सिजी हार्डवेयर एण्ड सप्लायर्स, स्काईलिंक टेक्नोलोजी, फिस्टेल ड्रिमपार्क रहेको छ ।

त्यसैगरी अफिसियल बैंकमा ग्रीन डेभलपमेन्ट बैंक, अफिसियल पानीमा एक्वा रिउस पानी, अफिसियल इन्टरनेटमा वल्र्डलिंक कम्युनिकेशन प्रा.लि.आफिसियल इन्स्योरेन्समा सगरमाथा इन्स्योरेन्स रहेको छ, भने प्रवर्द्धकमा नेपाल टुरिजम वोर्ड र विशेष सहयोगी संस्थामा पोखरा महानगरपालिका, अमरसिंह मावि रहेको छ ।

महोत्सवमा शारीरिक अशक्त, वृद्धवृद्धा, एकल महिला, विदेशी पर्यटक, पत्रकार, ६ वर्ष मुनिका बालबालिका र सुरक्षाकर्मीहरुलाई (पोषाक सहित) निः शुल्क प्रवेश गराइने छ। महोत्सवको गण्डकी प्रदेशका नव निर्वाचित मुख्यमन्त्री खगराज अधिकारीले बुधवार मध्याह्न साढे १२ बजे उद्घाटन गर्नेछन् ।

You might also like

Comments are closed.