वाग्मती प्रदेश सरकारले फिल्मसिटी निर्माण गर्ने

मकवानपुर । वाग्मती प्रदेश सरकारले फिल्मसिटी निमार्ण गर्ने भएको छ । त्यसका लागि प्रदेश सरकारले सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजनाको तयारी कार्य सुरु गरेको छ।

वाग्मती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले मकवानपुरको इन्द्रसरोवरलाई केन्द्र मानेर पालुङ, चितलाङ, दामन र दोलखाको भस्मेश्वर नगरपालिकालाई फिल्मसिटीका रुपमा विकास गर्न सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजनाको तयारी कार्य सुरु गरेको जनाएको छ।

मन्त्रालयले सम्पादन गरेको कार्य तथा उपलब्धी र आगामी कार्यदिशाबारे प्रतिवेदन आज सार्वजनिक गर्दै उक्त जानकारी दिइएको हो । साथै मन्त्रालयले चितवनको सौराहामा पर्यटन विभागबाट निर्माण गरिएको सूचना केन्द्रबाट दिइएको जानकारीका आधारमा चितवन, मकवानपुर जिल्लाका व्यवसायीलाई सेवा प्रवाह गर्ने, वाग्मती प्रदेशको पर्यटकीयस्थलको प्रचारप्रसार गर्न छायाङ्कन गर्ने, चलचित्रलाई सूचक र मापदण्ड बनाउने कार्य अगाडि बढेको जनाएको छ ।

मन्त्रालयका सचिव मदन कोइरालाबाट प्राप्त प्रतिवेदन एवं जानकारीअनुसार मकवानपुरगढीलाई बृहत् पर्यटन विकास गरिनेछ। त्यसका लागि रु तीन करोड बजेट विनियोजन गरिएको छ। सङ्घीय सरकारको समन्वयमा साहसिक जलयात्रालाई महत्वपूर्ण नदी संरक्षण क्षेत्र घोषणा र कम्तीमा दुईवटा बृहत् पर्यटन महोत्सव गर्ने प्रतिवेदनमा उल्लेख छ।

निजी क्षेत्रको सहकार्यमा भारतीय पर्यटक लक्षित पर्यटक यातायात सञ्चालन (वीरगञ्जबाट सुरुआत गर्ने), वाग्मती प्रदेशमा रहेका लोपोन्मुख भाषा, कला र संस्कृतिको अभिलेखीकरण र संरक्षण, पर्यटकीयस्थल एवम् गतिविधिको प्रचारप्रसारमा बढोत्तरी गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ । प्राप्त विवरणमा नयाँ पर्यटकीय मार्ग निर्माण गर्ने कार्य प्रारम्भ भएको, रसुवा–४ गोसाइँकुण्ड क्याङ्गजिङ्गमा हाई हिमालय नेचुरल वाल क्लाइम्बिङ ट्रेनिङ सेन्टर निर्माण कार्य सुरु गरिएको उल्लेख छ।

पर्यटकीय तारे होटल, लज, रिसोर्ट, पब, लाउन्ज, होमस्टेको वर्गीकरण गरी स्तर निर्धारण समिति गठन गरी प्रतिवेदन प्राप्त भइसकेको र आन्तरिक पर्यटनलाई चलायमान बनाउन घुमफिर वर्ष चितवनको सौराहाबाट प्रारम्भ गरेको प्रतिवेदनमा उल्लेख छ।

You might also like

Comments are closed.