लुम्बिनी विकास बैंकको १५ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आ.व २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गरी आ.व २०७९/८० का लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरुसंगै सेयरधनीहरुलाई ९ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयरसहित कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष प्रविणकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न १५ औं वार्षिक साधारण सभामा आ.व. २०७८/७९ को वार्षिक प्रतिवेदन उपर प्रत्यक्ष सहभागी भएका सेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले स्पष्ट परेका थिए ।

साथै, १५ औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिती निर्विरोध चयन गरेको छ । जसमा, संस्थापक सेयरधनीहरु (समूह “क”) को तर्फबाट चिन्तामणी भट्टराई, रामचन्द्र सिग्देल र प्रविणकृष्ण श्रेष्ठका साथै सर्वसाधारण सेयरधनीहरु (समूह “ख”) को तर्फबाट गणेशराज रेग्मी, अर्जुन थापा र केशव खतिवडा निर्विरोध निर्वाचित भएका छन् ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको विभिन्न स्थानहरुमा गरी कुल ८८ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउण्टर स्थापना भएको छ । बैंकले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणादेखि दश गुणासम्म गर्न मिल्नेसमेत विशेष योजना कार्यान्वयनमा ल्याएको नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले बताए ।

You might also like

Comments are closed.