काठमाडौं । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं उपत्यकामा हाल खराब अवस्थामा रहेका सडक जुन निकायले बिगारेको हो उसैले १५ दिनभित्र मर्मत गरिसक्न निर्देशन दिएका छन् ।
उपप्रधानमन्त्री श्रेष्ठले मन्त्रालयमा आज नेपाल विद्युत् प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल दूरसञ्चार संस्थान, मेलम्ची खानेपानी विकास समितिलगायत सेवा प्रदायक संस्थाका प्रमुख र प्रतिनिधिसँगको बैठकमा तत्कालको समस्या समाधान गरेर भविष्यमा समस्या दोहोरिन नदिन मिलेर लाग्न आग्रह गरे ।
उनले कुनै पनि निकायले काम गर्दा सडक भत्केमा सडक विभागको गुणस्तर अनुसार आफैँले मर्मत गर्नुपर्ने बताए। उपप्रधानमन्त्री श्रेष्ठले उपत्यकाको सडक राम्रो बनाउन र नागरिकलाई सजिलो बनाउन एकले अर्कोलाई दोष दिनुभन्दा मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
सबै निकायले एकीकृतरुपमा योजना बनाएर पूर्ण गतिमा काम गर्न लाग्नुपर्ने उनले बताए । उपत्यकाका सडकमा संरचना रहेका सबै निकायका प्रतिनिधिको बैठक महिनामा दुई पटक बस्न पनि उपप्रधानमन्त्री श्रेष्ठले निर्देशन दिए ।
Comments are closed.