‘निक्षेपको ब्याजदर घटाउने बैंकर्स एशोसिएशनको सहमति सकारात्मक’

काठमाडौं । नेपाल उद्योग परिसंघले निक्षेपको ब्याजदर घटाउने बैंकर्स एशोसिएशनको सहमति सकारात्मक भएको जनाएको छ।

परिसंघले बिहीबार एक विज्ञप्ति जारी गरी अर्थतन्त्रमा लगानी योग्य पुँजीको अभाव, निस्क्रिय कर्जामा भइरहेको तीव्र वृद्धि, उच्च ब्याजदरलगायत कारणले निजी क्षेत्रको मनोबल खस्किएको बेलामा निक्षेपको ब्याजदर घटाउने नेपाल बैंकर्स एसोसिएशनको सहमति सकारात्मक भएको जनाएको हो।

मागमा आएको सङ्कुचन, उच्च ब्याजदरका कारण लगानी महँगो हुँदा नयाँ लगानीका योजना स्थगन भइरहेको अवस्थामा उक्त सहमति हुनु खुसीको कुरा भएको परिसंघले उल्लेख गरेको छ ।

‘परिसंघले निजी क्षेत्रको खस्किएको मनोबल उकास्न, अर्थतन्त्रलाई गति प्रदान गर्न ब्याजदर घटाउनुपर्ने जोड दिँदै आएको छ, उक्त निर्णय चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनः लयमा फर्काउन सहयोगी हुने हाम्रो विश्वास छ’, विज्ञप्तिमा उल्लेख छ ।

कर्जाको ब्याजदर घट्दा उद्योग व्यवसायमा लगानी विस्तार हुने र उद्योगी व्यवसायीको खस्किएको मनोबल उकास्न सहयोगी हुने परिसंघले विश्वास लिएको छ । ब्याजदर घटेपछि लगानीकर्ताले आफ्नो लगानी विस्तारको योजनालाई फेरि अगाडि बढाउने र समग्र मागमा वृद्धि आउने हुँदा अर्थतन्त्र चलायमान हुने परिसंघले जनाएको छ।

You might also like

Comments are closed.