फिल्मको व्यापारसँगै प्रचार प्रसार बढ्यो

काठमाडौं । डिजिटल प्रविधिमा फिल्म निर्माण हुन थालेदेखि नेपालभर फिल्म एकसाथ प्रदर्शनमा गर्ने गरिन्छ । त्यसअगाडि उपत्यकाबाहिर मोफसलमा प्रदर्शन भएपश्चात् फिल्म काठमाडौं आइपुग्थ्यो ।अवस्था फेरिएसँगै मोफसलमा हुने व्यापारसमेत बढेको छ । पोखरा, नारायणगढ, नेपालगञ्ज, बुटवल लगायतका सहरमा फिल्मको व्यापारसँगै प्रचारप्रसार बढेको छ ।

प्रदर्शनका लागि तयार फिल्मले प्रायः मोफसल भ्रमण गरेको पाइन्छ । गत कात्तिकमा प्रदर्शन भएर ५१औँ दिन मनाएको फिल्म ‘महापुरुष’ को चितवन र इटहरीमा प्रिमियरसमेत भयो ।“मोफसलमा दर्शक बढाउने हो भने प्रचारप्रसारअन्तर्गत हुने गतिविधि काठमाडौं केन्द्रित मात्र गर्न हुँदैन। त्यही कारण हामी मोफसलको हरेक सहरमा पुगेर दर्शकसँग प्रत्यक्ष रूपमा साक्षात्कार गरेका थियौँ”, कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले भने।

हालै आफू निर्मित तथा निर्देशित फिल्म ‘तिम्रो मेरो साथ’ चितवनमा प्रिमियर गरेका रमेश एमके पौडेलले नेपालमै बजार खोज्न आवश्यक रहेको बताए। “मोफसलमा वीरगञ्ज, मलङ्गवा, जनकपुरलगायत स्थानको बजारमा हामीले नेपाली फिल्मको बलियो उपस्थिति देखाउन बाँकी छ । त्यहाँ भोजपुरी फिल्मको दबदबा छ”, निर्देशक पौडेलले भने।

मोफसल भ्रमणमै रहेका छायांकार तथा कार्यकारी निर्माता सुदीप बरालले काठमाडौं केन्द्रित प्रचार प्रसारले मोफसलमा नपुग्ने बताए। बराल आबद्ध फिल्म ‘ह्यारी कि प्यारी’ को कलाकार जीतु नेपाल, साम्राज्ञी आरएल शाह, विजय बराल र निर्देशक डाक्टर कपिल रिजालले मोफसलमा हुने महोत्सव र पत्रकार सम्मेलनमा सहभागिता जनाउनेछन् ।

 

You might also like

Comments are closed.