उपप्रधानमन्त्री श्रेष्ठले गरे मुग्लिङ-पोखरा र नारायणघाट-बुटवल सडकको अवलोकन

चितवन । मुग्लिङ–पोखरा र नारायणघाट–बुटवल सडकको प्रत्यक्ष अवलोकनमा रहेका उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले स्थानीय सरकारका प्रमुख एवं प्रतिनिधि, निर्माणसँग सम्बन्धित निकाय र सरोकारवालासँग छलफल गरेका छन् ।

मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशकसहितको टोली लिएर सडकका विभिन्न आयोजना र विकासको स्थलगत निरिक्षण गर्न निस्किएका श्रेष्ठले आज सम्बन्धित निकायसँग छलफल गरेका हुन् । छलफलमा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, माडी नगरपालिकाकी मेयर तराकुमारी महतो र अन्य सरोकारवालाको भनाइ सुनेपछि मन्त्री श्रेष्ठले सकारात्मक हस्तक्षेप गरेर गुणात्मक आर्थिक, सामाजिक रुपान्तरण र समृद्धि निर्माणमा सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।

भरतपुरकी मेयर दाहालले बसपार्क चोकदेखि देवघाट चोकसम्मको बाइपास निर्माणमा अत्यन्तै ढिलासुस्ती भएको, मेघौलीसम्मको बाँकी सडक सम्पन्न गर्न बजेट विस्तार गर्नुपर्ने, महानगरबाट पश्चिम गोलाघाटमा पुल आवश्यक भएको र माडीठोरी सडकलाई गति दिनुपर्ने बताइन् ।

त्यस्तै, माडीकी मेयर महतोले राष्ट्रिय निकुञ्जबाट निस्कने जनावरका कारण सास्ती भोग्नुपरेको बताइन । चितवन राष्ट्रिय निकुञ्जका निमित्त वाडेन रमेश तिवारी भने विद्यमान कानुनमा टेकेर निकुन्जले सडक र पुल निर्माणमा सहयोग गर्ने बताए । मन्त्री श्रेष्ठले अहिले मन्त्रालयले सुझाव संकलन गरिरहेको र सुझावलाई संस्लेषण गरेर कार्वान्यनमा लैजाने बताए ।

‘सरकारको एक तिहाइ बजेट यहि मन्त्रालयमा छ । हामीले सुशासन, यातायात क्षेत्रको सुधार र भौतिक पुर्वाधारमा भ्रष्टाचार र अनिमियताको अन्त्य गरेर देशलाई विकासको गति दिनुछ,’ उनले भने ।

भौगौलिक महत्त्व र जनसंख्या सबै हिसाबले भरतपुर राष्ट्रिय महत्वको महानगर भएको र यहाँको नेतृत्वका रूपमा रेणु दाहालले विकासमा नयाँपन दिइरहेको श्रेष्ठले बताए । श्रेष्ठले ढिलासुस्ती गरिएको गुनासो आएको बसपार्क–देवघाट बाइपास चार किमी सडकको अनुगमन गरेका छन् । अनुगमनका क्रममा उपस्थित निर्माण व्यवसायीले असारसम्म निर्माण सम्पन्न गरिसक्ने प्रतिवद्धता जनाएका छन् ।

त्यसक्रममा चितवनकै छ लेनको सडकको पनि श्रेष्ठले अनुगमन गरेका छन् । महानगरका मेयरसहित सडक अनुगममा निस्किएका उपप्रधानमन्त्रीसमक्ष ६ लेन सडकका निर्माण व्यवसायीले असारसम्ममा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छ्न् ।

You might also like

Comments are closed.