गण्डकी प्रदेश सभा सदस्य पौडेलद्वारा वडा कार्यालय भवनको उद्घाटन

स्याङ्जा । आँधीखोला गाउँपालिका वडा नम्बर २ चिलाउनेबासको नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । एक समारोहका बीच गण्डकी प्रदेश सभा सदस्य सुधिरकुमार पौडेलले नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरेका हुन्।

उक्त भवन निर्माणका लागि १ करोड ८८ लाखको लागत अनुमान गरी टेन्डर गरिएकोमा ठेक्का घटेर रु १ करोड ३९ लाख १२ हजार १ सय ३१ मा विवेक एण्ड कुवेर. श्री विद्यामोहन जे.भी. स्याङ्जाले निर्माण कार्यको जिम्मा पाएको थियो। २०७८ साल साउन ४ गते सम्झौता भई २०७९ कार्तिक १३ गते सम्पन्न भएको वडा कार्यालय भवनमा ५ वटा कोठासहित एउटा हल रहेको पालिकाले जनाएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य सुधिरकुमार पौडेलले कुनै पनि विकास निर्माणको सवालमा गाउँपालिका एक्लैले मात्र सम्भव नभएकोले जनताको पूर्ण सहभागिता जरुरी भएको बताउँदै भवन निर्माणमा सहयोग, सहकार्य तथा योगदान गर्ने सम्पूर्णमा आभार व्यक्त गरे।

“जनप्रतिनिधि केही समयका लागि हुन् । व्यवस्थित संरचनाबाट गुणस्तरीय र प्रविधीमैत्री सेवा दिएर जनतालाई सहज बनाउनु आजको आवश्यकता हो,” पौडेलले भने । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले हालसम्म शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, कृषि, पर्यटन, श्रम तथा रोजगारलगायतका अन्य क्षेत्रहरूमा गरिएका मुख्य-मुख्य उपलब्धीहरूबारे जानकारी गराए ।

वडा नं २ का वडा अध्यक्ष कमलप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेल र उपाध्यक्ष सिता थापा विशेष अतिथि रहेका थिए । कार्यक्रमको संचालन गाउँपालिकाका अ. सबईन्जिनियर सुन्दर पौडेलले गरेका थिए ।

कार्यक्रममा आँधीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी, वडा नं १ का वडा अध्यक्ष पवन काजी अधिकारी, वडा नं ४ का वडा अध्यक्ष सिंहबहादुर क्षेत्री, वडा नं ५ का वडा अध्यक्ष कृष्णप्रसाद पनेरू, वडा नं ६ का वडा अध्यक्ष नबिन ढकाल, गाउँकार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, स्थानीय बुद्धिजिवी तथा समाजसेवीहरू र गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको गाउँपालिकाका सूचना प्रविधि अधिकृत रोशन लामिछानेले जानकारी दिए ।

You might also like

Comments are closed.