काठमाडौं । दक्षिण एसियामा खाद्य सुरक्षाको सुनिश्चितताका लागि कृषि उत्पादन वृद्धिसँगै बजारसम्मको पहुँच सुनिश्चितता गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। आज काठमाडौं आयोजित प्रथम दक्षिण एसियाली कृषि सम्मेलनका क्रममा नीति निर्माता र व्यवसायीहरूले पछिल्लो समय अन्तर्राष्ट्रिय व्यापारमा गैरभन्सार अवरोध बढ्न थालेकाले यसमा सुधार आवश्यक रहेको बताएका हुन्।
नेपाल उद्योग वाणिज्य महासंघलगायतका संस्थाले संयुक्तरूपमा आयोजना गरेको उक्त सम्मेलनमा महासंघ अध्यक्ष शेखर गोल्छाले सम्मेलनले नेपाली उत्पादनको बजारीकरणमा सहयोग पुग्ने बताए। दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) मा यस क्षेत्रका मुलुकबीच व्यापार विस्तारको अवसर भए पनि कृषिजन्य उत्पादनको निर्यातमा गैरभन्सार अवरोधलगायतका समस्या रहने गरेको छ।
अध्यक्ष गोल्छाले नेपालको तुलनात्मक लाभ भएका वस्तुहरूको निर्वाध निर्यातका लागि देशभित्र सहुलियत बढाउनुपर्ने र अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच सुनिश्चित गरिनुपर्ने बताए। श्रीलंकाका व्यापार एवं खाद्य सुरक्षामन्त्री नलीन फर्नान्डोले यस क्षेत्रका ४० प्रतिशत सीमान्तकृत किसान रहेकाले उनीहरूको उत्पादन वृद्धि र बजार सुनिश्चितताका लागि पहल गर्नुपर्ने बताए।
उनले कृषि क्षेत्रको निर्यात लागत निकै महँगो भएको र यहाँका धेरै देशहरूले खुद कृषिजन्य वस्तु आयात गरेको बताउँदै खाद्य सुरक्षा सुनिश्चिततामा विशेष प्रयास आवश्यक रहेको बताए। दक्षिण एसियाले संयुक्तरूपमा प्रयास गर्दा यहाँको खाद्य सुरक्षा सुनिश्चितता र किसानको आय वृद्धिमा सहयोग पुग्ने विश्वास मन्त्री फर्नान्डोले व्यक्त गरे।
Comments are closed.