पोखरा महोत्सवमा दर्शकको भीड, ७ करोडको कारोबार

पोखरा । पोखराको अमरसिंह चौरमा यतिबेला एघारौं संस्करणको पोखरा महोत्सव जारी छ । महोत्सवको दशौं दिनसम्म आइपुग्दा कुल १ लाख ७० हजार दर्शकले अवलोकन गरेका छन् भने ७ करोड बराबरको कारोबार भएको छ ।

महोत्सवमा आउने अधिकांश दर्शकहरुले स्टलमा राखिएका सामग्री किनमेल गर्ने गरेका छन् । जसका कारण स्टलहरुमा पनि दर्शकहरुको भीड बढ्ने गरेको छ । स्टलमा राखिएका विशेष गरी जाडो यामका लत्ता कपडा संगै घरायसी सामग्रीहरु किनमेल गर्नेहरुको घुइचो बढेको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

महोत्सवको दशौं दिन चर्चित दोहोरी गायक आलिफ खानको एकल र दोहोरीमार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए भने, खान संगै जीवन दाहाल, शिवहरी ढुंगाना, रेशम निर्दोश, ज्योती लोहोनी, कमला गैरे, चिना थापालगायतको प्रस्तुतीसमेत रहेको थियो ।

त्यसैगरी महोत्सवमा हाँस्यव्यांग्यतर्फ राजेन्द्र गिरी जादुगर गुन्द्रुके र मुना गिरी र २३ इन्चका मनोज गोर्खालीको नृत्यले दर्शकहरुले मनोरञ्जन लिए । आज साँझको लाइभ कन्सर्टमा अनुप्रस्थाको प्रस्तुती मार्फत युवाहरुले भरपुर मनोरञ्जन लिएको प्रचार प्रसार संयोजक सुनारले जानकारी दिए ।

महोत्सवमा शनिवार लोकदोहोरी तर्फ चर्चित लोकदोहोरी गायक रामजी खाँड, जीवन दाहाल, शिवहरी ढुंगाना, कृष्ण अखेली, सुदीप क्षेत्री, घनश्याम रिजाल, सुमन खड्का, सविना गुरुङ, माया केसी, पुजा गुरुङको प्रस्तुती रहनेछ भने, कार्यक्रमको सञ्चालन नेत्रपाणी बास्तोलाले गर्नेछन् । त्यसैगरी महोत्सवमा शनिवार पुरुषोत्तम भण्डारी (पुर्खे बा) को हाँस्यब्यांग्य प्रहसन र साँझको लाइभ ब्याण्डमा भिटेनको प्रस्तुती रहने छ ।

You might also like

Comments are closed.