पर्यटन मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टी,श्रद्धाञ्जलीका लागि मावन सागर उर्लियो


 

पोखरा, १७ फागुन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको शनिबार राजकीय सम्मानका साथ अन्त्येष्टी गरिएको छ । मन्त्री अधिकारीको शनिबार पोखराको रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टी गरिएको हो । अधिकारीको पार्थिव शरिरमा उनका जेठा छोरा बिराज अधिकारीले दागवत्ती दिएका थिए । अन्त्येष्टीअघी स्वर्गिय अधिकारीलाई सम्मानगारद सलामी अर्पण गरिएको थियो ।

यसअघी नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए । त्यस्तै, नेकपाका नेता बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले पार्टीको झण्डा ओढाएका थिए । उनीहरुले पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा श्रद्धाञ्जलीका लागि राखिएको बेला स्वर्गिय अधिकारीको शवमा झण्डा ओढाएका हुन् ।

यसअघी अधिकारीको पार्थिव शरिरलाई दिउँसो सवा १२ बजे पोखरा ल्याइएको थियो । विहान ८ बजेदेखी पूर्वाह्न ११ बजेसम्म काठमाडौंको टुँडिखेलमा श्रद्धाञ्जलीका लागि अधिकारीको शव राखिएको थियो । त्यसपछि स्काई ट्रकमार्फत पोखरा विमानस्थल ल्याइएको थियो । विमानस्थलबाट सिधै प्रदर्शनी केन्द्र नयाँबजार ल्याएर करीब पौने ३ घण्टा त्यहाँ राखिएको थियो ।

प्रदर्शनी केन्द्रमा नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, श्रममन्त्री गोकर्ण विष्ट, कृषिमन्त्री चक्रपाणी खनाल ‘बलदेव’, गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलको विशेष उपस्थिति थियो ।

त्यस्तै नेकपाका नेताहरु बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश, युवा नेता योगेश भट्टराई, खगराज अधिकारी, हितराज पाण्डे ‘उत्तम’, राजकाजी गुरुङ ‘करण’,लगायतका नेताहरुको सहभागिता थियो ।

दिउँसो ३ः३० बजेबाट शव यात्रा शुरु भएको थियो । ¥यालीमा नेपाल सरकारका मन्त्रीहरु, गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरु, नेकपाका नेताहरु, कार्यकर्ताहरु, आफन्तहरु, शुभेच्छुकहरुलगायत हजारौंको सहभागिता थियो । प्रदर्शनी केन्द्रबाट शुरु भएको शव यात्रा नयाँबजार, महेन्द्रपुल, हस्पिटलचोकहुँदै रामघाट पुगेको थियो ।

श्रद्धाञ्जली र अन्त्येष्टीका बेला परिवारदेखी सर्वसाधारणसम्म भावविह्वल भएका थिए । स्वर्गिय अधिकारीकी श्रीमती विद्या भट्टराई, छोराहरु बिराज र स्वराज तथा उनका बुबाआमालाई सम्हाल्न निकै मुश्किल परेको थियो । त्यस्तै श्रद्धाञ्जली अर्पण गर्न पुगेका जोकोहिको आँखामा आँशु प्रष्टै देखिन्थ्यो ।

अधिकारीको क्रियाकर्म ७ दिनमात्रै

स्वर्गिय अधिकारीको क्रियाकर्म ७ दिन मात्रै गरिने भएको छ । स्वर्गिय अधिकारी समाज रुपान्तरणकै लागि लागेकाले उनकै चाहना र ईच्छा अनुसार क्रियाकर्म ७ दिनमा झारिएको परिवारको भनाई उद्धृत गर्दै स्वर्गिय अधिकारीका सहपाठी धनराज आचार्यले जानकारी गराए । उनले भने,‘संस्कार र संस्कृति समय अनुकुल परिवर्तन हुनुपर्छ भन्ने स्वर्गिय अधिकारीको भनाई थियो, क्रियाकर्म लामो हुँदा परिवारमा थप पीडा हुने भएकाले यसलाई छोट्याएर देशैभर लागु गर्नुपर्छ भन्ने उहाँको भनाई थियो, देशैभर त अहिले लागु भएको छैन, तर स्वर्गिय अधिकारीको चाहना र ईच्छा अनुसार हामीले उहाँको क्रियाकर्म भने ७ दिनमै सक्ने निर्णय गरेका छौं ।’ उनले अधिकारीको शुद्धाशुद्धी यहि फागुन २१ गते गरिने जानकारी दिए ।

You might also like

Comments are closed.