काठमाडौं । जुत्ता चप्पल हरेक मानिसका लागि प्रयोग हुने बस्तु हो । आफ्नो आवश्यकता र बजेट अनुसारको जुत्ता चप्पल खरिद गरी प्रयोग गर्ने सबैको बानी हुन्छ । आवश्यकता र बजेट अनुसारको जुत्ता चप्पल खोज्दै बजार–बजार र पसल–पसल चहार्नुपर्ने धेरैलाई बाध्यता रहन्छ । अब तपाईं त्यो बाध्यतामा हुनुहुन्छ भने त्यसको समाधान हुन सक्छ । काठमाडौं भृकुटीमण्डपमा जानुभयो भने जुत्ता चप्पल मेला चलिरहेको छ, जहाँ तपाईंले आफ्नो आवश्यकता र बजेट अनुसारको जुत्ता चप्पल खरिद गर्न सक्नुहुन्छ ।
मेलामा सस्तोदेखि महंगोसम्मका र सबै प्रकारका जुत्ता चप्पल बिक्री एवं प्रदर्शनीमा राखिएको आयोजक गंगा श्रेष्ठले जानकारी दिए । एक हजार भन्दा बढी मोडलका जुत्ता चप्पल मेलामा उपलब्ध रहेको उनले बताए । ‘राम्रो क्वालिटीका जुत्ता चप्पल खरिद गर्ने अवसर सस्तो मूल्यमा ग्राहकलाई मिल्छ,’ उनले भने ।
मेलामा एक पटक आएका ग्राहकहरु पुन आवश्यकत परेको समयमा आउने गरेको अनुभव आयोजक सबिन कार्कीले सुनाए । ‘नयाँ ग्राहकहरु पनि मेलामा आएर अवलोकन गरी आवश्यकता अनुसार जुत्ता चप्पल खरिद गर्नुहुनेछ भन्ने हामीलाई अपेक्षा छ,’ उनले भने, ‘यहाँ एक पटक आएपछि सबै ग्राहक सन्तुष्ट भएको पाएका छौं ।’
आकर्षक छुटसहित स्वदेशी ब्राण्डका प्रतिष्ठित जुत्ता चप्पल खरिदको अवसर मिलेपछि अवलोकनकर्ता तथा खरिदकर्ताहरुको आकर्षण दिनप्रतिदिन बढिरहेको आयोजकको भनाइ छ । ५० प्रतिशतसम्म छुटसहित वारेन्टीको समेत व्यवस्था गरिएपछि ग्राहकहरु मेलाप्रति आकर्षित भएको अर्का आयोजक रामहरि तोलाङले बताए । एउटै थलोमा धेरै ब्राण्डका जुत्ता चप्पल ग्राहकले आफ्नो आवश्यकता अनुसार छानेर खरिद गर्ने अवसर मिल्नु मेलाको सुन्दर पक्ष रहेको उनको भनाइ छ ।
मेलामा शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वर्ल्ड, बोस सुज, भेनस सुज, फुट स्टेप, हिमाल सुज, हिमानी सुज र बाम्बो ब्राण्डको सहभागिता छ ।
Comments are closed.