जीवन बिमाको पहुँच बढाउन लघु बिमा कम्पनीको योगदान रहन्छ : नवनियुक्त सिइओ श्रेष्ठ

काठमाडौं । बिमा क्षेत्रमा ३४ वर्षको अनुभव संगालेका प्रतापमान श्रेष्ठ क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त भएका छन् । नेशनल लाइफ इन्स्योरेन्सको डिसिइओबाट राजीनामा दिएका उनी लघुबिमा कम्पनीको नेतृत्व सम्हाल्न पुगेका हुन् । बिमा प्राधिकरणबाट कम्पनीले लघुबिमाको लाइसेन्स प्राप्त गरेसँगै श्रेष्ठलाई सिइओ नियुक्त गरेको हो ।

बिमा क्षेत्रमा काम गरेको अनुभवलाई थप परिस्कृत गर्दै कम्पनीलाई सबल नेतृत्व प्रदान गर्ने श्रेष्ठले बताएका छन् । क्रेष्ट माइक्रो लाइफको केन्द्रीय कार्यालय सुर्खेतको वीरेन्द्रनगरमा छ ।

जीवन बिमा कम्पनीमा एसिस्टेन्टबाट जागिर सुरु गरेका श्रेष्ठ डिसिइओसम्म भएर नयाँ कम्पनीको व्यवस्थापकीय नेतृत्वमा पुगेका हुन् । नेपालमा जीवन बिमाको पहुँच बढाउन लघु बिमा कम्पनीले सकारात्मक योगदान पुर्याउने श्रेष्ठ बताउँछन् ।

‘कम आर्थिक स्रोत भएका व्यक्तिहरुलाई लक्षित गरी सेवा सञ्चालन हुन्छ,’ उनले भने, ‘गाउँ गाउँमा जीवन बिमाको पहुँच बढाउन लघुबिमा कम्पनीको योगदान हुनेछ ।’ ट्रेडिसनल बिमा कम्पनीले धेरै रकमको बिमा गर्दै आएकोमा लघु बिमा कम्पनीले अधिकतम ५ लाख रुपैयाँसम्मको मात्रै बिमा गर्न पाउँछन् ।

‘न्यून आय, आर्थिक, सामाजिक तथा भौगोलिक कारणबाट जोखिम उन्मुख वर्गका व्यक्ति तथा समुदायलाई लक्षित गरी लघुबिमा कम्पनीको अवधरणा आएको हो । अन्य बीमालेखले समेट्न नसकेको वा पहुँचमा पुग्न नसकेका वर्गहरुप्रति लक्षित गरेर सेवा प्रदान हुन्छ,’ श्रेष्ठले भने ।

You might also like

Comments are closed.