होली अर्थात फागु पूर्णिमा, हिन्दुहरुको महत्वपूर्ण पर्व हो । नेपाल र भारतका हिन्दुहरुले होलीलाई विशेष महत्वका साथ मनाउने गर्छन् । होलीमा नेपाल सरकारले सार्वजनिक विदासमेत दिदै आएको छ । प्रत्येक वर्ष फागुशुल्क पूर्णिमालाई होली पर्वका रुपमा मनाइछ । यस वर्ष चैत ६ गते होली परेको छ ।
त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग होली पर्वलाई जोडेर हेरिन्छ । हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपू होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आँफै आगोमा भष्म भएकी थिइन् भन्ने प्रचलन छ । त्यही दिनदेखि होली पर्व मान्न सुरु भएको मानिन्छ । होली रङहरुको पर्व पनि हो । आपसमा रङहरु दलेर होली मनाइन्छ । आपसी भाइचाराको विकासका लागि रङहरु दलेर मनाइने होलीलाई रमाइलो पर्वका रुपमा पनि लिइन्छ । विशेष गरी बालबालिकाहरु र युवा पुस्ताले विशेष महत्वका साथ होली मनाउँछन् ।
पछिल्लो समय होलीका अवसरमा विभिन्न कार्यक्रमहरु समेत हुने गरेका छन् । होली पर्वलाई पोखरामा पर्यटनसँग पनि जोडेर हेर्ने गरिएको छ । रेवान पोखराले एकदिने होली फेस्टिवल नै आयोजना गर्दै आइरहेको छ भने अन्य संघसंस्थाले पनि पोखरा तथा आसपासमा विविध कार्यक्रम गरी होली मनाउँदै आइरहेका छन् । जुन कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाउनेछ ।
रङहरु आपसमा दलेर मनाइने यो रंगिन पर्वका केही विकृति पनि छन् । पछिल्ला वर्षहरुमा विकृति बढ्दै गइरहेका छन् । चिनेका साथीभाइ तथा आफन्तहरुका बीच सौहार्दपूर्ण तरिकाले होली मनाइनु सकारात्मक पक्ष हो । बाटोमा हिडेका नचिनेका मानिसहरुलाई पनि जथाभावी रङहरु छ्याप्ने, रङमा क्यामिकल मिसाइने लगायतका विकृति बढेका छन् । पर्वका नाममा जथाभावी मदिरापान सेवन गर्ने र सवारी चलाउने गर्दा सडक दुर्घटना पनि बढेका इतिहास छन् । पर्व मनाउने नाममा भित्रिएका विकृतिलाई नियन्त्रण गर्दै सांस्कृतिक पर्वका रुपमा होली मनाइनुपर्छ ।
Comments are closed.