तनहुँ, ७ चैत
१०वर्षे सशस्त्र द्धन्द्ध पश्चात मुलुकमा परिवर्तन आएतापनि द्धन्द्धका पीडितहरुको अवस्था यथावत पाइएको छ । विहीवार दमौलीमा प्रदर्शन गरिएको वृत्तचित्रमा सशस्त्र द्धन्द्धका पीडितहरुको अवस्था यथावत पाइएको हो । द्धन्द्धपीडितहरुको पीडाव्यथा समेटेर द्धन्द्ध पीडित साझा चौतारीले निर्माण गरेको ‘चहराइरहेका घाउ’ बृत्तचित्रमा पीडितहरुले दिएको अभिव्यक्तिबाट द्धन्द्ध पीडतहरुका समस्याहरु तथा पीडाहरु जहाँको त्यही रहेको पाइएको हो ।
न्यायका लागी द्धन्द्ध पीडित समाजको प्रशासनिक व्यवस्थापन एवम् मानवअधिकार पत्रकार सघसँगको मिडिया साझेदारीमा द्धन्द्ध पीडतले आफ्नो संघर्ष, भोगाइ, पीडाव्यथा, र आवश्यकताहरुका बारेमा सार्वजनिक रुपमा भनाइ राख्न सत्यको बयान विषयक कार्यक्रम सञ्चालन गरेको थियो । सोही कार्यक्रम मार्फत १२ जना पीडितहरुले अभिव्यक्त गरेका भोगाइलाई समेटेर बृत्तचित्र निर्माण गरिएको द्धन्द्ध पीडित साझा चौतरीका संस्थापक संयोजक सुमन अधिकारीले जानकारी दिए । विभिन्न ठाँउमा गरिएका कार्यक्रमहरुमा संकलित पीडितहरुका पीडाव्यथा, विगतको अवस्था, वर्तमानको भोगाइ र उनका समस्या समाधानका उपायहरु सहित ८ जना महिला र ४ जना पुरुषको कथा समेटेर बृत्तचित्र निर्माण गरिएको उनले बताए । जसमा ६ जना राज्यपक्षबाट पीडित, ५ बिद्रोही पक्षबाट र १ जना अज्ञात पक्षबाट पीडित भएकाहरुको आवश्यकता तथा अधिकारका आवजहरु प्रतिनिधिमूलक रुपमा समेटिएको छ ।
बृत्तचित्र प्रदर्शन पछि भएको अन्तरक्रियामा बोल्दै व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले न्यायका लागी मारिएका तथा बेपत्ता परिवारलाई राज्यको विशेष सहयोग हुनुपर्नेमा जोड दिए । त्यस्तै बन्दीपुर गाँउपालिकाकी उपप्रमुख करुणा गुरुङले द्धन्द्ध पीडितको मुद्धाहरु सम्बोधन गर्न विशेष पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् । स्थानीय सरकारले द्धन्द्ध पीडितको हकमा ऐन, नियम बनाउन नसके पनि सम्मान र न्यायको वातावरण सिर्जना गर्न सकारात्मक रहेको उनीहरुको भनाई थियो ।
कार्यक्रममा राजनीतिक विश्लेषक एवम् मानव अधिकारकर्मी टिका ढकालले प्रत्येक द्धन्द्ध पीडित परिवारलाई सत्य जान्न पाउने अधिकार दिने, द्धन्द्ध पीडितलाई सत्यको आधारमा परिपुरणको व्यवस्था गर्ने , पीडितलाई न्याय दिन पहल गर्ने र द्धन्द्ध नदोहरिने सुनिश्चतता गर्ने हो भने द्धन्द्ध पीडितको समस्या सम्बोधन गर्न सकिने बताए । द्धन्द्ध पीडितले आफ्ना समस्याहरु सुनाएर थाक्नु हुदैन, बारम्बार सरकारलाई झक्झकाउनुपर्छ उनले भने ।
त्यस्तै नेकपा गण्डकी प्रदेश सदस्य ओमकुमारी पौडेलले द्धन्द्ध परिवारको शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टी राज्यले गनुपर्नेमा जोड दिइन् । राज्यले कुनै पनि खालका द्धन्द्धलाई छुट दिन नहुने उनको भनाइ थियो । आन्दोलनको नाममा अब कुनै पनि नागरिक मारिनु हुदैन उनले भनिन् । द्धन्द्ध पीडित साझा चौतरीका केन्द्रिय उपाध्यक्ष बन्द्रीबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य कृष्णा रुचाल, संस्थाकी कोषाध्यक्ष शुशीला चौधारी लगायतले बोलेका थिए ।
कार्यक्रममा पीडित परिवारले ४ वर्ष अघि गठन गरिएको सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग औपचारिकतामा सिमित भएको बताए । द्धन्द्ध पीडितहरुले परिचयपत्र समेत नपाएको बताए । पटक पटक गरिने यस्ता अन्तरक्रियाको उपलब्धी केही नभएको बरु उल्टै द्धन्द्धको घाउ बल्झाउने काम भएको गुनासो थियो ।
Comments are closed.