पोखरा । बीमा गर्न सजिलो र भुक्तानी लिन असाध्यै गाह्रो भएको एक कार्यक्रममा वक्ताहरुले बीमा कम्पनीका एजेन्टहरुले विभिन्न योजना देखाउँदै बीमा गराउने तर भुक्तानीको बेला सास्ती दिने गरेको बताए ।
नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयले बुधबार पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा उद्योगी व्यवसायीसँग बीमा विषयमा आयोजना गरेको अन्तरक्रियामा बोल्ने वक्ताहरुले खानाजस्तै बीमा पनि आवश्यक भए पनि प्रक्रियागत झन्झट र कम्पनीका व्यवहारका कारण बीमाप्रति आकर्षण नबढेको उनीहरुको भनाइ थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष गोकर्ण कार्कीले बीमा कम्पनीहरुले विश्वास आर्जन गर्ने गरी काम गनुपर्नेमा जोड दिए । उनले झन्झटिलो भुक्तानी प्रक्रियालाई सरलीकृत गर्न पनि आग्रह गरे । नेपालमा १६ जीवन बीमा, १४ निर्जीवन बीमा,२ पुनर्बीमा र २ लघुवित्त बीमा कम्पनीहरु क्रियाशिल छन्
कार्यक्रममा बोल्दै नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयका प्रमुख केशवप्रसाद ढकालले बीमा कम्पनीहरुलाई जिम्मेवार बनाउन,सर्वसाधारणलाई बढी प्रतिफल दिन र बीमाबारे सचेतना फैलाउने काम भइरहेको बताए ।
सोही कार्यालयका सहायक निर्देशक सुन्दरप्रसाद शर्माले बीमा गर्दाका फाइदाबारे जानकारी दिँदै बीमा भएर जीवन सुरक्षित बनाउन नागरिकहरुसँग अनुरोध गरे । निसा गण्डकीका अध्यक्ष सुरेन्द्र गोदारले बीमा गर्नुभन्दा पहिला त्यहाँ लेखिएका प्रावधान र सर्तहरु अध्ययन गर्न सर्वसाधारणसँग अनुरोध गरे । निब्स पोखराका दीपकराज तिवारीले पनि बीमा कम्पनीहरु पछिल्लो समय ग्राहकमैत्री भएको बताए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य बालकृष्ण कोइरालाले दुर्घटना हुँदा बीमा कम्पनीहरु हेर्नको लागि टाढा नजाने, भुक्तानीमा ढिलाइ गर्ने गरेको गुनासो गरे । उनले प्रिमियम बढाएर भए पनि स्वास्थ्य बीमाको रकम ३ लाखबाट बढाउनुपर्ने माग गरे । उनले निर्माण कार्य गर्दा सँगै रहेका घरको बीमा गर्न कम्पनीहरुले नमानेको बताए । पोखरा हार्डवयर एसोसियनका अध्यक्ष हेमराज तिमिल्सिनाले बीमा कम्पनीहरुले दिने सेवा सुविधाबारे प्रष्ट पार्नुपर्ने बताए ।
अधिकृत विक्रेता संघका अध्यक्ष अनिल श्रेष्ठले स्वास्थ्य बीमाबारे अmभ सचेतना फैलाउनुपर्ने बताए । पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य राम कँडेलले ब्राण्ड,सेवा र डेलिभरी सेवाको पनि बीमा गनुपर्ने माग गरे ।
Comments are closed.