गैरकानुनी गतिविधि रोक्न बिप्लवमाथि प्रतिबन्ध : गृहमन्त्री बादल

सन्देश श्रेष्ठ
पोखरा, चैत २४

गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव समूहले गरेका गैरकानुनी गतिविधि रोक्न सो समूहलाई प्रतिबन्ध लगाएको बताएका छन् । गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई आइतबार पोखरामा सम्बोधन गर्दै उनले विप्लव समूहलाई लगाइएको प्रतिबन्ध संविधान र कानूनसम्मत रहेको दाबी गर्दै उनले भने,‘विप्लव समूहको गतिविधि शान्ति सुरक्षा र विकासका लागि बाधक भयो, त्यसैले सो समूहमाथि प्रतिबन्ध लगाइएको हो, यो संविधान र कानूनसम्मत छ ।’ उनले विप्लव समूहलाई राजनीतिको मूल प्रवाहमा ल्याउनका लागि प्रयास भइरहेको उल्लेख गरे ।

गृहमन्त्री बादलले सरकार शान्ती सुरक्षा कायम गर्न सफल भएको दाबी गरे । विगतको भन्दा हाल शान्ति सुरक्षा सुदृढ भएको बताउँदै उनले भने,‘पछिल्लो एक वर्षमा सरकार शान्ति सुरक्षा वहाली गर्न सफल भएको छ, आपराधिक गतिविधि नियन्त्रण गर्न सक्षम भएको छ ।’

jutta mela

गृहमन्त्री बादलले पृथकतावादीलाई वार्ताकै माध्यमबाट मूलधारको राजनीतिमा ल्याउन सरकार सफल भएको बताए । पृथकतावादी आन्दोलन गरिरहेका सिके राउतलाई सरकारले मूलधारको राजनीतिमा ल्याएको उनको संकेत थियो । यद्वपी उनले पृथकतावादी भनेपनि सिके राउतको नाम भने उच्चारण गरेनन् ।्

गृहमन्त्री बादलले तराईमा आएको आँधीहुरीबाट प्रभावितलाई व्यवस्थित गर्न सरकारले कार्यक्रमहरु बनाई सकेको बताए । गृहमन्त्री बादलले देशलाई समृद्ध बनाउने आधार सरकारले तयार गरेकोसमेत बताए । सरकारले समृद्ध नेपाल बनाउनका लागि नीतिगत कुराहरु र कानूनहरु तयार गरेको उनको भनाई थियो ।

गृहमन्त्री बादलले सरकारले संघीयताको कार्यान्वयन प्रक्रिया अघि बढाएको बताए । त्यस्तै सरकारले पुर्ननिर्माणको काम तिव्र रुपमा अघि बढाएको उल्लेख गरे । उनले पुँजी र प्रविधि भित्राउने उद्धेश्यले सरकारले लगानी सम्मेलन गरेको र सो सम्मेलन उपलब्धीपूर्ण भएको बताए । विधेयकमा अदालतले दिएको आदेश र संविधानको मर्म अनुसार जन्मसिद्ध आधारमा नागरिकता प्राप्त गरेको व्यक्तिको सन्तानलाई वंशजको आधारमा नागरिकता दिने भन्ने विषयलाई राखेर विधेयकमार्फत समाधान गर्न लागेको जानकारी गराए ।

गोष्ठीमा गृहमन्त्री थापासँगै गृहसचिव प्रेमकुमार राई, शसस्त्र प्रहरी बलका सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान प्रमुख गणेश अधिकारी, नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक (डिआइजी) पुष्कर कार्की, गृह सुरक्षा सल्लाहकार ईन्द्रजित राई, गृहमन्त्रालयका सहसचिव रामकृष्ण सुवेदी, गृहमन्त्रालय सहसचिव ईन्दु घिमिरे, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिरिक्षक बिन्दु काफ्ले लगायतका उच्च अधिकारीहरु छलफलमा सहभागि थिए । गोष्ठीमा गण्डकी प्रदेशका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरुको सहभागीता थियो ।

You might also like

Comments are closed.