कांग्रेस बुढाहरुको पार्टी बनाउनु हुँदैन : सुजाता

 

पोखरा, ८ बैशाख

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसलाई बुढाहरुको मात्र पार्टी बनाउन नहुने बताएकी छन् । प्रेस युनियन कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले नेतृत्वमा बुढाहरुले मात्र ओगटेर पार्टीलाई बुढाहरुको मात्र पार्टी बनाउन नहुने बताएकी हुन् । उनले भनिन्,‘म जन्मदापनि तिनै व्यक्ति थिए, आजपनि तिनै व्यक्तिहरु नेतृत्वमा छन् र अबपनि तिनै व्यक्तिहरुले पद ओगटेर कांग्रेसलाई बुढाहरुको मात्र पार्टी बनाउनु हुँदैन ।’ उनले युवाहरुको मनोभावना बुझ्ने नयाँ व्यक्तिले पार्टीको नेतृत्व गर्नुपर्ने धारता व्यक्त गरिन् ।

कांग्रेस नसुध्रिए आगामी चुनावपछि नेपालमा एउटामात्र पार्टी आउने भविष्यवाणी गरिन् । कांग्रेस नेतृत्वले कार्यशैली फेरेर नसुध्रिए नेपालमा कम्युनिष्ट पार्टी मात्रै रहने बताएकी हुन् । आगामी चुनाव कांग्रेसका लागि फलामको चिउरा चपाउनु सरह हुन्छ–उनले भनिन्,‘आगामी चुनावमा कांग्रेसले हा¥यो भने नेपालमा एउटै पार्टी मात्र रहन्छ, त्यो कम्युनिष्ट पार्टी हो ।’

स्वर्गिय गिरिजाप्रसाद कोइराला पुत्री सुजाताले कोइराला परिवारका तीनजना मिल्दा उत्पादत मच्चाएकोप्रति आश्चर्य व्यक्त गरेकी छन् । पार्टी बचाउने जिम्मेवारी आफूहरुमा आएपछि मिलेको बताउँदै उनले भनिन्,‘हामी मिल्दा किन उत्पात मच्चाउनु प¥यो ? किन टाउको दुःखाउने ? ।’ उनले एउटै परिवार, एउटै पार्टीको नेता र राजनीति बुझेको व्यक्तिहरु बिच एकता हुनु स्वाभाविक भएको बताईन् ।

नेतृ कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवाले गुट, उपगुट अन्त्य गर्न नचाहेको आरोप लगाईन् । गुटको जबसम्म अन्त्य हुँदैन, तबसम्म म नेतृत्व लिन्छु भनेर देउवाले के भन्न खोजेको भन्ने प्रश्न गर्दै उनले भनिन्,‘गुट अन्त्य गर्नेपनि समयसीमा हुन्छ, कहिलेसम्म गर्नुहुन्छ ? गुट र अन्र्तघात अन्त्य गर्छु भन्ने अनि हामी बाँचुञ्जेल कुरिराख्नुपर्ने ? उनले गुट अन्त्यको नाममा आजिवन सभापति बनाउन नसकिने बताइन् ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी नेतृ कोइरालाले प्रजातन्त्र खलबल्याउने प्रयास भइरहेको बताईन् । नेतृ कोइरालाले देशको विकासका लागि आफ्ना पीता गिरिजाप्रसादले स्थापित गरेको सहमति, सहकार्य र एकता आवश्यक रहेको बताईन् । ओली सरकार एकलौटी रुपमा बढेको बताउँदै त्यसले ओलीलाई सफल नबनाउने बताईन् । सहमति, सहकार्य र एकताको बाटो नसमात्दा सरकारले ठोस काम गर्न नसकेको बताउँदै उनले थपिन्,‘ओलीजीले सहमति, सहकार्य र एकतालाई बिर्सिनुभयो, उहाँ एकलौटी ढंगले अघि बढ्नुभयो, तर उहाँले एकलौटी गरेर जान सक्नुहुँदैन, यसरी जाँदा उहाँ सफल हुनुहुँदैन ।’ उनले ओली सरकारले बितेको एक वर्षमा कुनैपनि ठोस काम गर्न नसकेको टिप्पणी गरिन् ।

नेतृ कोइरालाले विप्लव नेतृत्वको नेकपालाई वार्तामा बोलाएर समाधान खोज्नुपर्ने बताईन् । विप्लवलाई पनि बोलाएर शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउनुपर्ने उनको भनाई थियो ।

You might also like

Comments are closed.