पोखरा, १२ बैशाख
बैदेशिक रोजगारीबाट फर्केका देशभरका रिटर्नीहरु पोखरामा भेला हुने भएका छन् । बैदेशिक रोजगारीबाट स्वदेश फर्केकाहरुको साझा संस्था रिटर्नी माइग्रेन्ट नेपालको प्रथम राष्ट्रिय सम्मेलनमा भाग लिन देशभरका रिटर्नीहरु पोखरामा भेला हुने भएका हुन् । सम्मेलन यहि बैशाख १५ र १६ गते पोखरा सभागृहमा हुने विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
रिटर्नीहरुलाई आफ्नै देशमा स्वरोजगार बनाई आफ्नो, परिवार र देशको आर्थिक उन्नयनमा सघाउने उद्धेश्यले रिटर्नी माइग्रेन्ट नेपाल खोलेको महासचिव आचार्यले बताए । उनले संस्थामा हालसम्म ३० हजार रिटर्नी आबद्ध भइसकेको दाबी गरे । संस्थाको प्रदेश नम्बर १, प्रदेश नम्बर २, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ र प्रदेश नम्बर ७ मा प्रदेश स्तरिय शाखा तथा २१ जिल्लामा शाखा बिस्तार भइसकेको उनले जानकारी दिए ।
सम्मेलनमा ७७ जिल्लाका २५० जना प्रतिनिधि सहभागि हुने आयोजकले दाबी गरेको छ । सम्मेलनको उद्घाटन शत्रमा ६ सय बढी रिटर्नीहरु सहभागि हुने रटर्नी माइग्रेन्ट नेपालका महासचिव लक्ष्मीप्रसाद आचार्यले जानकारी दिए । सम्मेलनले नया नेतृत्व चयन गर्ने जनाइएको छ ।
रिटर्नीहरुले राज्यसँग ३ वटा माग अघि सार्ने भएका छन् । पोखरामा हुने सम्मेलनबाट रिटर्नीहरुले सरकारको नीति तथा कार्यक्रममा जोड्न, सरकारले दिने ऋणमा झञ्झटिलो भएकाले त्यसलाई सरल बनाउन र रिटर्नीको लगानीमा सरकारी साझेदारिताको माग गर्ने तयारी गरेको महासचिव आचार्यले बताए ।
रिटर्नी माइग्रेन्ट नेपालले विदेशबाट स्वदेश फर्केकाहरुलाई स्वदेशमै बस्ने वातावरण बनाउनका लागि भूमिका खेल्ने जनाएको छ । नया नेतृत्वले स्वदेशमै केहि गर्ने योजना बनाएर आएकाहरुलाई कानूनी प्रशिक्षण दिनुका साथै यहाँ आइपर्ने अड्चन र बजारबारे तालिम तथा अभिमूखीकरण दिने महासचिव आचार्यले बताए ।
सम्मेलन सम्पन्न गर्न करीब ७ लाख लाग्ने आयोजकले जनाएको छ । सम्मेलनमा सहभागिहरुबाट प्रति व्यक्ति २ हजारका दरले संकलन गर्ने र बाँकी रकम विभिन्न संघसंस्थाबाट सहयोग मागेर खर्च गरिने जनाइएको छ ।
Comments are closed.