शीतभण्डारमा कुहिएका सुन्तलाको वैज्ञानिक अनुसन्धान गरिँदै

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा शीतभण्डारमा राखेका लाखाँै मूल्यका सुन्तला कुहिएर नष्ट भएपछि किसान चिन्तित बनेका छन् । पाणिनि गाउँपालिका–२ पोखराथोकमा रहेको शिवशक्ति शीतभण्डारमा पणेनाको सिम्ले र पोखराथोकका किसानले राखेको ९० मेट्रिकटनमध्ये ६३ मेट्रिकटन सुन्तलाका दानामा ढुसी लागेर नष्ट भएको किसान खगेन्द्र पौडेलले बताए ।

शीतभण्डारमा राखेका ६३ मेट्रिकटन सुन्तला कुहिएपछि रु ९० प्रतिकेजीमा सुन्तलाको हिसाब गरेपनि किसानले करिब रु ५६ लाख ७० हजार घाटा व्यहोर्नु परेको छ । किसान मानबहादुर श्रेष्ठ, चिरञ्जीवी पौडेल, रेवतीराज पौडेल र खगेन्द्र पौडेलले शीतभण्डारमा स्थानीयस्तरमा उत्पादन भएको ९० टन सुन्तला राखेका थिए । बेमौसमी समयमा बढी मूल्यमा बिक्री गर्ने उद्देश्यले राखेका सुन्तलामा ढुसी लागेपछि घाटा परेको किसानको भनाइ छ ।

अघिल्ला दुई वर्षमा पनि कुहिएर सुन्तला नोक्सान भएका थियो । यसवर्ष लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयले गत मङ्सीरमा विज्ञ प्राविधिक ल्याएर किसानलाई गाउँमै शीतभण्डारमा सुन्तला राख्ने तरिका सिकाएको थियो । सिकाएअनुसार सुन्तला भण्डारण गर्दापनि कुहिएर नष्ट भएको किसानको भनाइ छ ।

सुन्तला कसरी र किन कुहियो भनी आइतबार नेपाल कृषि अनुसन्धान परिषद्का वैज्ञानिक उमेश आचार्य र कृषि विकास निर्देशनालयको टोलीले स्थलगतखरुपमा अवलोकन गरी अनुसन्धान सुरु गरेको कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरे बताउँछन् ।

वैज्ञानिकको टोलीले गरेको अनुगमनको प्रतिवेदन आउन केही दिन लाग्ने उनले बताए । प्रारम्भिक जानकारीअनुसार सुन्तलाको ‘ट्रिटमेन्ट’ राम्रोसँग नभएको देखिएको छ । अघिल्ला दुई वर्षमा केही मात्रामा कुहिएपनि यसपटक एकैसाथ नष्ट भएको हो । यसरी बर्षेनी सुन्तला बिग्रिदा किसान चिन्तित बनेका छन् ।

लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा पाणिनी गाउँपालिकाले तीन वर्षअघि तीन सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण गरेको थियो । सिम्लेका सुन्तला किसानको शिवशक्ति मिश्रित किसान समूहले शीतभण्डार सञ्चालन गरेको छ । सुन्तला पाणिनी गाउँपालिका–१ पणेना र वडा नं २ पोखराथोकको प्रमुख उत्पादनको स्रोत हो । पणेनामा दुईसय र वडा नं १ सिम्लेमा मात्रै करिब ४९ जना किसानले वार्षिक सुन्तला खेतीबाट कम्तीमा रु एक लाखदेखि बढीमा रु २८ लाखसम्म आम्दानी गर्दै आएका थिए ।

अर्घाखाँचीमा पाँच सय हेक्टर क्षेत्रमा सुन्तला खेती हुन्छ । पाणिनी गाउँपालिका–१ पणेना, वडा नं २ पोखराथोक, वडा नं ४ पटौटी र वडा नं ५ मैदानमा पनि सुन्तला उत्पादन हुने गर्दछ । पाणिनी गाउँपालिकासँगै मालारानी गाउँपालिका, छत्रदेव गाउँपालिकाका विभिन्न स्थानमा सुन्तला खेती हुँदै आएको छ । रासस

You might also like

Comments are closed.